स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नमूना परीक्षण आजदेखि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुरु गरिएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले धरानबाट पनि आजदेखि नमूना परीक्षण शुरु गरिएको जानकारी दिए । यसअघि काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोना भाइरस परीक्षण गरिन्थ्यो ।
उनका अनुसार चीनबाट सामग्री आएपछि हेटौँडा, नेपालगञ्ज र पोखरामा पनि नमूना परीक्षण गरिने छ । उनले आजदेखि कोभिड–१९ का बारे सर्वसाधारणलाई जानकारी दिन थप एक कल सेन्टर विस्तार गरिएको जानकारी दिए । उनका अनुसार पहिले १११५ नम्बर र अर्को नयाँ ११३३ नम्बरको कल सेन्टर थप गरिएको छ । उनले शुक्रबार सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी कोभिड–१९ सङ्क्रमित १९ वर्षीया युवती घर फिर्ता नभएको पनि बताए ।