छिमेकी मुलुक चीनबाट मेडिकलजन्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज आज मध्याह्न त्यसतर्फ उडेकाे छ।
वाइडबडी ए–३३० जहाज मध्याह्न १२ः३० बजे चीनको ग्वाङ्जाओ उडेकाे हाे। मेडिकल कार्गो उडानका लागि निगमको वाइडबडी जहाजले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाइसकेको छ। प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार काठमाडौँबाट खाली उडेकाे वाइडबडी जहाज आजै राति चीनबाट मेडिकल सामग्री लिएर फर्कने छ । करिब ३० टन मेडिकल सामग्री रहेको बताइएको छ।
निगमका अपरेशन विभाग प्रमुख क्या दिपु ज्वार्चनले निगमको वाइडबडी जहाज आज मध्याह्न चीन जाने र उताबाट मेडिकल सामग्री लिएर राति १०ः३० बजे नेपाल फर्कने जानकारी दिए। निगमको यो उडानमा चालकदलसहित १० प्राविधिक जनशक्ति खटिने उनले बताए । ज्वार्चनले स्वास्थ्य मन्त्रालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह भएबमोजिम निगमले उक्त निर्णयलाई कार्यान्वयन गरेको उल्लेख गरे । वाइडबडी जहाजले कोभिड–१९ परीक्षण गर्ने किट र पिपीइलगायतका औषधिजन्य सामग्री ल्याउनेछ । चीनको वुहानमा रहेका नेपालीलाई उद्धारका लागि पनि निगमकै वाइडबडी जहाज प्रयोग गरिएको थियो ।
सरकारले कोभिड–१९ परीक्षण तथा उपचारका लागि अत्यावश्यक सामग्री चीनबाट ल्याउने यसअघि नै निर्णय गरेको थियो । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले यही चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेको छ । यो अवस्थामा आपतकालीन, कार्गो, उद्धारलगायत उडान मात्र हुनेछ । अहिले आन्तरिकतर्फ पनि लुक्ला पोखरालगायत गन्तव्यबाट विदेशी नागरिकको उद्धार उडान भइरहेको छ ।आन्तरिकमा नौ उडान विगत तीन दिनयता दिनहुँजसो त्यस्ता उद्धार उडान भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।