कतारको दोहाबाट काठमाडौं बिमानस्थलमा रित्तो अबतरण गरेको कतार एयरवेजको जहाज ३०५ युरोपेली नागरिक बोकेर उडेको छ।
कतार एयरवेजको उडान नम्बर क्युआर ७४८२ बाट शुक्रबार २६० जर्मनसहित ३०५ युरोपियन लिएर जहाज उडेको हो। फर्किन लागेका सबै नागरिकलाई आवश्यक चेकजाँचपछि विमानस्थल लगिएको थियो।
अध्यागमन विभागका अनुसार नेपालमा रहेका युरोपेली मुलुकका नागरिकलाई फर्काउन जर्मन दुतावासले कतार एयरवेजको खाली जहाज दोहाबाट मगाएको थियो। ती यात्रु लैजानका लागि कतारस्थित जर्मन दूतावासले जहाज पठाउन आवश्यक पहल गरेको थियो।
विमानस्थलका अध्यागमन प्रमुख सागर आचार्यका अनुसार राजधानी उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगेर कतार पठाइएको हो।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा गरिएको लकडाउनका कारण विदेशी नागरिक फसेका थिए।