कतारको रोजगारीबाट गाउँ फर्केको तेस्रो दिनै खोकीसँगै ज्वरो आएपछि औरही गाउँपालिका–५ का ४० वर्षीय कृष्ण (नाम परिवर्तन) को परिवार अतालियो। त्यसपछि परिवारका सदस्यले उनलाई तुरुन्त प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर जाँच गराए। ज्वरो कम हुने औषधि दिएर स्वास्थ्यकर्मीले उनलाई कोरोना भाइरस (कोभिड–१९) को जाँच गराउन सल्लाह दिए।
सुरुवाती लक्षण तथा ट्राभल हिस्ट्री (यात्रा विवरण) हेरेपछि उनलाई स्वास्थ्यकर्मीले कोरोना जाँचको सल्लाह दिएका हुन्। मंगलबार बिहान एम्बुलेन्समा राखेर जनकपुरस्थित जानकी मेडिकल कलेज तथा शिक्षण अस्पताल पठाइएको स्वास्थ्यकर्मीले बताए। तर, जानकी मेडिकल कलेजले आफूकहाँ परीक्षण नहुने भन्दै उनलाई प्रादेशिक अस्पताल पठाइदियो। प्रादेशिक अस्पतालले पनि केही गर्न नसकिने भन्दै काठमाडौं लैजान भनेको एम्बुलेन्स चालक वीरेन्द्रप्रसाद यादवले बताए।
विरामीका एक आफन्तलाई लिएर आफू काठमाडौंको टेकुस्थित शुक्रराज सरुवा रोग अस्पताल गइरहेको एम्बुलेन्स चालक यादबले बताए। जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले कोरोनाका शंकास्पद विरामीलाई जनकपुरको जानकी र प्रादेशिक अस्पतालले भर्ना लिन अस्वीकार गरेपछि काठमाडौं पठाइएको बताए। प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाइँले विरामीलाई जाँचका लागि पठाउँदा दुईवटै अस्पतालले भर्ना नलिएको बताए।
कतारबाटै रोजगार गरी शुक्रबार कतार एयरवेजको विमानबाट अवतरण भई शनिबार घर फर्केका सप्तरी सुरुङ्गा नगरपालिकाका २७ वर्षीय युवकलाई पर्सिपल्ट सोमबार खोकीसँगै ज्वरो आयो। गाउँकै उपचार केन्द्रमा औषधि गराउँदा निको भएन। परिवारलाई कोरोना भाइरसको शंका भयो। ती युवकको परिवारले उपचारका लागि विराटनगर रोजे। जनस्वास्थ्य प्रमुख दुनियालाल यादवका अनुसार प्रदेश २ मा कतै कोभिड–१९ को जाँच केन्द्र छैन। त्यसैले विराटनगर पठाइएको थियो।
प्रदेश २ मा कोरोना बिरामीको जाँच तथा उपचारको अवस्था कतिसम्म बेहाल छ भन्ने कुरा बुझ्न यी दुई घटना नै पर्याप्त छन्। कोरोना भाइरसको संक्रमण भएका बिरामीको उपचारका लागि प्रदेश २ मा पाँचवटा ‘हब’ अस्पताल तयार पारिएको प्रादेशिक स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले दावी गर्दै आएका छन्। क्रिटिकल केयरसहितको एक सय ५० वटा आइसोलेसन वार्ड तयार गरिएको उनको दावी छ।
जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा १०, नारायणी अस्पताल वीरगन्जमा १०, धनुषाको रमदैयास्थित जानकी मेडिकल तथा शिक्षण अस्पतालमा ६०, जनकपुरकै सिटी अस्पतालमा २० र वीरगन्जको नेसनल मेडिकल कलेजमा ५० गरी एक सय ५० आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको उनले बताए।
‘जानकीबाट पठाइएको शंकास्पद बिरामीलाई प्रादेशिक अस्पतालमा भर्ना गरिएको हुनुपर्छ, म अपडेट छुइनँ, प्रादेशिक अस्पतालमा त व्यवस्था छ,’ झाले भने, ‘यहाँ बिरामी भर्ना गर्न आइसोलेसन तयार छ, एक पटक डाक्टर सावलाई सोध्नुस्।’
प्रादेशिक अस्प्तालका प्रमुख डा. नागेन्द्र यादवका अनुसार शुक्रबार कतार एयरवेजबाट अवतरण भएका ती यात्रुको लक्षण, ट्राभल हिस्ट्रीलगायत हेर्दा पोजेटिभ हुन सक्ने सम्भावना छ। ‘यस अस्पतालमा उपकरणदेखि चिकित्सकीय सुरक्षा उपकरण नभएकाले रिस्क लिएर भर्ना गर्न सक्ने अवस्था छैन,’ उनले भने। अहिले आफूहरु कोरोना विरामीको जाँच तथा उपचार गर्न सक्ने तयारी अबस्थामा नभएको उनले बताए। डा. यादवले भने,‘पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट नै नभएको अवस्थामा कसरी कोरोना विरामीको उपचारमा खटिन सकिन्छ ? हामीसँग मात्र नभई प्रदेशको कुनै पनि अस्पतालले कोरोना विरामीको उपचार गर्ने, जाँच गर्ने अवस्था छैन।'
हब अस्पतालहरूमा कोरोना संक्रमित बिरामीका लागि भेन्टिलेटर, आइसियूसहितको क्रिटिकल केयर सेवा उपलब्ध भएको झाको दाबी र अस्पतालहरुको बेहाल हेर्दा यस प्रदेशमा कोरोना फैलिए सहाल्नै नसक्ने अवस्था आउने चिकित्सकहरु नै बताउँछन्।
यता, सिराहामा कुनै पनि स्थानीय तहले प्रभावकारी ढंगले न जनचेतनामूलक कार्यक्रम गरेका छन्, न त आइसोलेसनको नै व्यवस्था छ। त्यस्तै सरकारी अस्पतालका मेसुहरु आफनै क्लिनिकमा ब्यस्त छन्।