कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम कम गर्न हुम्लाको सिमकोट गाउँपालिकाल एउटा वडाबाट अर्को वडामा आवतजावत गर्न प्रतिबन्ध लगाएको छ।
गाउँपालिकाको बुधबारको बैठकले एक वडाबाट अर्को वडा र एक गाउँपालिकाबाट अर्को गाउँपालिकामा आवतजावत गर्न प्रतिबन्ध लगाएको हो। यसैगरी सोही गाउँपालिकाले कोरोना भाइरस न्यूनीकरणका लागि आपतकालीन कोष खडा गरेको छ।
सो भाइरसका बारेमा सर्वसाधारणलाई सचेतना जगाउन रु १० लाख बजेट व्यवस्था गरी कोष खडा गरेको हो। बैठकले सम्भावित खतरालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले बताए। उनले भने “कुनै आपत परिहाले तत्काल खर्च गर्न हामीले कोष खडा गरेका छौँ।”
आवश्यकतानुसार कोषमा पैसा हेरफेर गर्न सकिने गरी निर्णय भएको गाउँपालिकाका प्रवक्ता रुपसिंह सुनारले बताए। बैठकले वडा नं १ देखि ८ सम्मका कोहीकसैमा समस्या वा कोरोनासम्बन्धी जानकारी लिनुपरेमा तीन जनालाई सम्पर्क गर्न भनिएको छ । अध्यक्ष पदमबहादुर लामा ९८५८३२०५२९, उपाध्यक्ष वलि रावत ९८५८३२२१५३ र निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकाया ९८५८०२८९२१ लाई सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको प्रवक्ता सुनारले जानकारी दिए।