पाकिस्तानको लाहोर र पञ्जाबमा कार्यरत तीनजना पत्रकारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पाकिस्तानबाट प्रसारित न्यूज २४ एचडी टीभीका दुईजना पत्रकार र अबतक टीभीका एकजना पत्रकारलाई कोभिड १९को संक्रमण देखिएको हो। पत्रकारको नाम भने खुलाइएको छैन।
कतिपय टेलिभिजन च्यानलहरुले व्यक्तिगत रुपमा परीक्षण गरी पत्रकारहरुलाई क्वारेन्टाइनमा पठाइसकेका छन्। कार्यस्थलमा पत्रकारहरुका लागि आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री अभाव रहेको संचालकहरुले बताएका छन्।
पाकिस्तान पत्रकार महासंघका अध्यक्ष सिद्धिकी अन्जरले अधिकांश संवाददाताहरु अस्पतालबाट बिना सेफ्टी किड समाचार सम्प्रेषण गरिरहेकाले त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।