नेपाली कांग्रेसले शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिहरूले संकलन गरेर पठाएको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेको छ।
नेपाली जनसम्पर्क समिति साइप्रससहित संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र कतारमा कार्यरत नेपाली पठाएको रकम कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रका प्रमुख महावीर पुनलाई हस्तान्तरण गरेका हुन्।
जनसम्पर्क समितिले पठाएको एक लाख ३५ हजार ४ सय ४१ रूपैयाँमा कांग्रेस प्रवक्ता तथा केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख शर्माले १० हजार रूपैयाँ थपेर हस्तान्तरण गरेका हुन्। ‘कोरोना जस्तै प्रश्नमा नेपालको अनुसन्धान दक्षता बढाऔं भन्ने आग्रह साथ साथीहरूले जम्मा गरेर पठाएको रकम हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ,’ शर्माले भने।
महामारीको जोखिममा नेपालले केही योगदान गर्न सक्ने अभिप्रायले नै देश बाहिर रहेका नेपालीले आविष्कार केन्द्रलाई सहयोग गरेकाले यो कार्यमा आफ्नो पहलकदमी निरन्तर हुने आविष्कार केन्द्रका प्रमुख पुनले बताए।
‘सानो–सानो प्रयासबाटै ठूला आविष्कार सम्भव भएको हो, हामीले गरिरहेको काम सानो होला, सीमित स्रोतसाधन होला, आशा गनुपर्छ, विस्तारै दायरा फराकिलो हुनेछ,’ पुनले भने।