मालबाहक कन्टेनरभित्र लुकेर मंगलबार मध्यरातमा वीरगन्ज आइपुगेका ५२ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
सबारी साधन केही नपाएपछि काठमाडौं, भरतपुर, हेटौंडाबाट कन्टेनरमा बसेर आएका उनीहरुलाई प्रहरीले वीरगन्जको घन्टाघरमा नियन्त्रणमा लिएको थियो। उनीहरुलाई बुधबार बिहान क्वारेन्टाइनमा राखिएको हो।
काठमाडौंको सतुंगलस्थित इन्जिम हार्डवेयरमा आल्मुनियम अनलोड गरी मंगलबार वीरगन्ज फर्किने क्रममा ना५ख ९५५२ नम्बरको खाली कन्टेनरमा यात्रु आइरहेको जानकारी पाएपछि मंगलबार राति पर्सा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
उनीहरु २ सय रुपैयाँ भाडा तिरेर आएका हुन्। सरकारले लकडाउन गरेपछि अन्य सवारीसाधन नपाएपछि कन्टेनरमा लुकेर आएको बताएका छन्।
लकडाउनमा यात्रु ओसार्ने चालकलाई संक्रामक रोग ऐन र स्थानीय प्रशासन ऐन अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय पर्साको तयारी छ।