सरकारले कोभिड–१९ को सम्भावित जोखिमलाई दृष्टिगत गरी काठमाडौँ उपत्यकामा कम्तीमा पाँच हजार व्यक्ति क्षमताको सार्वजनिक क्वारेन्टाइन स्थल तत्कालै निर्माण गर्ने भएको छ ।
कोभिड–१९ विरुद्ध क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको आज पहिलो बैठकले उक्त क्वारेन्टाइन स्थल निर्माणका लागि सम्बन्धित सबै निकाय संयुक्तरूपमा परिचालित हुने र सो स्थललाई आवश्यक पर्दा तुरुन्त अस्थायी अस्पतालमा रूपान्तरण गर्न सकिने गरी तयारी गर्ने निर्णय गरेको हो । उपत्यकाका होटल, विद्यालय, रङ्गशालालगायत स्थानमा त्यस्तो क्वारेन्टाइन बनाइनेछ ।
आवश्यक पर्ने स्रोतसाधन/बजेट व्यवस्थापन योजनासम्बन्धी कार्य अर्थ मन्त्रालय, गृह मन्त्रालय, शहरी विकास मन्त्रालय र चारवटै सुरक्षा निकायका प्रतिनिधिको टोलीले सोमबार बिहान १० बजे हुने बैठकमा पेश गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले नेपाल होटल सङ्घ र होटल व्यवसायी महासङ्घसँग समन्वय गरी कम्तीमा दुई हजार व्यक्ति क्षमताका लागि उपयुक्त होटलहरुको स्थानसहितको विवरण तयार गरी भोलिको बैठकमा पेश गरिनेछ । काठमाडौँका प्रजिअले इचङ्गुनारायण स्थल र बलम्बुस्थित मनमोहन अस्पतालको भवन परिसरको निरीक्षण गरी आवश्यक पर्दा कति व्यक्ति क्षमतामा प्रयोग गर्न सकिन्छ विवरण तयार गरी पेश गर्ने, शैक्षिक अगुवा संस्थाहरु निजी तथा आवासीय विद्यालय अर्गनाइजेशनलगायत अगुवा शैक्षिक संस्थाको समन्वयमा कम्तीमा दुई हजार व्यक्ति क्षमताका होस्टेल/स्कूलको स्थानसहितको विवरण तयार गरी भोलिको बैठकमा पेश गर्ने निर्णय गरिएको छ ।
त्यस्तै राष्ट्रिय खेलकूद परिषद्ले काठमाडौँ, ललितपुर, पोखरा, बुटवल र धरानमा रहेका होस्टल तथा रङ्गशाला (टेन्टबाट निर्माण गर्न सकिनेसहित) मा क्वारेन्टाइनका लागि व्यवस्थापन गर्न सकिने क्षमता यकिन गरी पेश गर्ने निर्णय भएको छ ।