काभ्रे जिल्ला प्रशासन कार्यालयले पनौती बजारका केही क्षेत्रमा आज विहान ९ बजेदेखि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ ।
पनौती बजारको पूर्व शङ्खु जाने बाटोको चौकीसम्म ८०० मिटर, पश्चिम कुशादेवी जानेबाटोको एक किलोमिटर, उत्तर बनेपा जानेबाटोको ठाडोबाटोसम्म एक किलोमिटर र दक्षिण बेथानचोक जाने बाटोको एक किलोमिटरसम्म कफ्र्यु आदेश जारी भएको कार्यालयले जनाएको छ ।
सोमबारको घटनालाई लिएर आज पनि परिस्थिति असहज बन्दै गएपछि कफ्र्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । “परिस्थिति हिजोका घटनाले आज पनि भड्किन सक्ने अवस्था देखेपछि बिहान ९ बजेदेखि अनिश्चितकालसम्मका लागि कफ्र्यू आदेश जारी गरेका छौँ”, उनले भने ।
सोमबार पनौतीको मानेश्वरी बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका जनिमाया गोले र उनकी छोरी स्मारिकाको उपचारका क्रममा मृत्यु भएको थियो।
त्यसपछि आक्रोशित भीड र प्रहरीबीच झडप भएको थियो। त्यसक्रममा गोली चल्दा एक जना प्रहरी हवल्दार घाइते भएका छन्।प्रदर्शनकारीतर्फ तीन जना घाइते छन्।