कपिलबस्तु जिल्लामा २ लाख घुस सहित एक जना पक्राउ परेका छन्। जिल्ला अदालत कपिलबस्तुमा कार्यरत दोभासेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले दुई लाख रुपैयाँ घुससहित बिहीबार पक्राउ गरेको हो।
सेवाग्राहीसँग ठगी मुद्दाको सहजीकरण गरिदिने भन्दै घुस लिदै गर्दा अदालतका दोभासे विश्वनाथ कुर्मी चौधरीलाई रंगेहात नगद सहित पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुषालले जानकारी दिए।
सेवाग्रहीबाट कर्मचारीले घुस लिएको सूचना आयोगमा आएपछि कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
करिब ५ बजे कार्यालय समय पश्चात कपिलबस्तुको गौढीचौकमा रहेको महामाया अफसेट प्रेसबाट चौधरीलाई पक्राउ गरी नियन्त्रणमा लिइएको हो। उनलाई थप अनुसन्धानका लागि आयोगले नियन्त्रणमा राखेको अख्तियारले जनाएको छ।