नेतृत्वदाही भुमिकामा जुनियर र युवा हाम्रो प्रतिबद्धता भन्ने नारासहित गोरखा सदरमुकाममा आयोजित दुईदिने ४० औं राष्ट्रिय जुनियर तथा युवा रेडक्रस गोष्ठी सोमबार समापन भएको छ।
जुनियर तथा युवा रेडक्रसको संगठनात्मक विकासलाई थप प्रभावकारी बनाउन समयमै सर्कल गठन तथा पुनर्गठन गरी वर्षैभरि बिभिन्न कार्यक्रम सञ्चालन गर्ने र ती गतिविधि सञ्चालन गर्ने क्रममा स्थानीय स्तरमै स्रोत संकलन तथा परिचालनमा विशेष जोड दिनेलगायतका महत्वपूर्ण प्रतिवद्धता र सहमतिहरु सहित १३ बुँदे गोरखा घोषणपत्र जारी गरिएको छ।
घोषणापत्रमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघबाट प्रवद्धित केन्द्रमा युवा नीति तथा नेपाल रेडक्रस सोसाइटीको युवा संलग्न नीतिलाई जोड दिँदै विश्वव्यापीरुपमा रहेका बिभिन्न प्राकृतिक ,सामाजिक र मानवीय मुद्दाका गतिविधि सञ्चालन गर्ने गराउने उल्लेख छ।
देशभरिका जुनियर तथा युवा सर्कललाई बिभिन्न प्राकृतिक र मानवीय मुद्दाहरुमा बहस पैरवी र क्षमता अभिवृद्धि गरी सबलीकरण अभियान सञ्चालन गर्न यूवाहरुले प्रतिवद्धता जाहेर गरेको सोसाइटीका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए।
सडक सुरक्षा र प्राथमिक उपचार, विपद ब्यवस्थापन र कृतिम घटना अभ्यास,नोवेल कोरोना भाइरस र सोको प्रभावबाट बच्ने उपायहरू, साइबर बुलिङ, रक्तदानमा युवाहरूको भूमिका जस्ता बिषयमा भएको छलफल उत्कृष्ट रहेको र ती क्षेत्रमा युवाहरुको सचेतना अभियान बढाउन यूवाहरुले महत्वपूर्ण भूमिका खेल्ने जुनियर बिभाग निर्देशक सुदर्शन अधिकारीले अपेक्षा गरे।
पहिलो सत्रमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका महासचिव जगन चापागाईंले अनलाइनबाट प्रत्यक्ष रूपमा सहभागीहरुलाइ उत्प्रेरणामुलुक प्रशिक्षण दिएका थिए।
गोष्ठीमा ५९ जिल्लाका १९५ युवाको सहभागिता रहेको थियो।