विगत केही महिना देखि कृष्णनगर नगरपालिका कर्मचारी विहिन भएकाले तलब नपाएका शिक्षकहरु आन्दोलित भएका छन् । कृष्णनगर नगरपालिकाको कामकाज ठप्प पारेर नगरपालिका भित्रका कुल २७ सामुदायिक र २२ धार्मिक विद्यालयका शिक्षकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन । नगरपालिका भित्रको शिक्षकहरुले नगरपालिका तालाबन्दी गरि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा ज्ञापनपत्र समेत बुझाएका हुन ।
चार चार महिनासम्म आफ्ना बालबच्चालाई उधारो खुवाउंदै आएका शिक्षक वर्गको मर्का मन्त्रालयले समेत बुझिदिनु पर्ने राष्ट्रिय शिक्षक संघका नगर अध्यक्ष प्रह्लाद प्रसाद पाण्डेयले बताए । तलब लगायत विद्यालय पुर्वाधार, खाजा, छात्रवृत्ति लगायतका रकम निकासाको समस्या छिटै समाधान नभए नगरभित्रका सम्पुर्ण विद्यालय बन्द गरि सडकमा उत्रिन बाध्य हुने शिक्षक प्रदीप सिंहले बताए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पटक पटक सुचना गरेपनि कृष्णनगर नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृत नपठाएका कारण शिक्षक, कर्मचारी , उपभोक्ता समिति तथा अन्य योजनाहरुको काम ठप्प रहेको नगरप्रमख रजतप्रताप शाहले बताए । मन्त्रालयलाई आफ्नो राजनितिका लागि दाउंपेचबाट चलाउन खोज्ने केही स्थानिय नेताहरुका कारण कर्मचारी आउन नसकेका र पांच महिना देखि तलब खान नपाएका शिक्षकहरु आन्दोलित हुनु स्वाभाविक रहेको नगरप्रमुख शाहको भनाई छ ।
सत्तापक्षको माओबादीबाट प्रदेश कै पहिलो मुस्लिम महिला उपप्रमुख रहेको कृष्णनगर नगरपालिकामा सो दलको नेतृत्वमा रहेको मन्त्रालयले बाईपास गरेर गईरहेको उपप्रमुखका सल्लाहकार तुफेल खांको आरोप छ । प्रशासकिय अधिकृत , लेखा अधिकृत लगायतका कर्मचारी नआउदा नगरपालिकामा स्वास्थ संस्थामा औषधिको कमी समेत भएको छ ।