छ दिनदेखि आमरण अनशन बसिरहनुभएका माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ ।
विभिन्न माग राख्दै उहाँ फागुन ७ गतेदेखि अनशनमा बसेका थिए । अनशनका क्रममा उहाँको स्वास्थ्य जटिल बन्दै गएपछि आइतबार भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीसहितको टोलीले परीक्षण गरेको थियो । परीक्षणका क्रममा उनको शरिरमा अक्सिजनको मात्रा घट्दै गएको र मुटुको चाल बढ्दै देखिएको थियोे । वडाध्यक्ष पौडेलको स्वास्थ्य गम्भीर बनेपछि आज बिहान भरतपुर अस्पतालमा ल्याइ सघन उपचार कक्षमा उपचार भइरहेको डा तिवारीले जानकारी दिए ।
यसैबीच अनशनरत पौडेलको माग सुनुवाइ नभएको भन्दै स्थानीयले आज माडी बन्द गराएका छन् । माडी हुँदै सदरमुकाम चल्ने सवारीसाधन र त्यहाँका बजार ठप्प भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) नियमावली २०७६ पुन संशोधन हुनुपर्ने, बाँदरझुला साथै अमिलियाको उचित व्यवस्था गरिनुपर्ने, मानव वन्यजन्तु द्वन्द्व निवारणमा वन र बस्तीबीच वैज्ञानिक संरचना बनाउनुपर्ने र उत्तरी सिमानामा पर्ने रिउ खोला कोरिडोरको निर्माण व्यवस्थित गरिनुपर्ने माग रहेका छन् ।