पाँच दिनदेखि आमरण अनशन बसिरहेका माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
माडी नगरपालिकाका जनताका सरोकारका विषयलाई लिएर उनी फागुन ७ गतेबाट अनशनमा बसेका हुन्। उनको स्वास्थ्य अवस्थाको बारेमा आज भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीसहितको टोलीले परीक्षण गरेको थियो । तिवारीका अनुसार उनको पिसाबमा क्रिटिनिनको मात्रा दुई नाघेको छ । सामान्य मानिसमा शून्य हुनुपर्ने क्रिटिनिनको मात्रा बढेको हो ।
त्यसैगरी शरीरमा चाहिने ग्लुकोजको मात्रा घटेपछि शरीरबाटै प्रोटिन र फ्याट टुक्रिएर ग्लुकोज बन्न थालेको उनले जानकारी दिए। त्यस्तै अक्सिजनको मात्रा घटेको, मुटुको चाल बढ्दै गएको र अनियमित बनेको छ । उनलाई कार्डियक मनिटरमा राखेर परीक्षण गर्ने तयारी गरिएको छ । तिवारीका अनुसार भरतपुर अस्पतालबाट मनिटर लगेर अनशनस्थल नजिकैको स्वास्थ्य चौकीमा जोडेर राख्ने तयारी गरिएको छ ।
चिकित्सक टोलीले बघौडा अस्पतालमा जान आग्रह गरेको भए पनि पौडेलले अस्वीकार गरेको उनले जानकारी दिए । पौडेललाई विशेषज्ञ चिकित्सकको टोलीले हेर्नुपर्ने भएकाले भरतपुर अस्पताल ल्याउन सुझाव दिएको उनको भनाइ छ ।