गैरआवासीय नेपाली संघ डेनमार्कले राजधानी कोपेनहेगनमा एनआरएनको महत्व र आवश्यकता विषयक अन्तक्रिया गरेको छ।
गैरआसीय नेपालीहरुले केन्द्रीय कार्यालय भवन रहेको बालुवाटारको जग्गा खरिद प्रकरणको संघभित्रै पनि छानबिन हुनुपर्ने माग गरेका छन्। सो भेलाले छानबिन समिति गठनको माग गरेको छ।
भेला आयोजकमध्येका एक अगुवा शशीकुमार ढकालले छानबिन समिति गठन सम्बन्धमा एनआरएनए यूरोप उपसंयोजक शुक्रराज न्यौपानेलाई ज्ञापन पत्र बुझाएका छन्।
ज्ञापनपत्र बुझ्दै उपसंयोजक न्यौपानेले जग्गा खरिदमा गोलमाल भएको भन्नेबारे विभिन्न पत्रपत्रिकामा समाचारहरु समेत आएको र बिश्वभरिका नेपालीहरुले समेत छानबिन समितिको आबश्यकतामा जोड दिएको बताए। गैरआवासीय नेपाली डेनमार्कको यो आवाजलाई आफूले केन्द्रीय कमिटीसम्म पुर्याउने प्रतिवद्वता ब्यक्त गरे।
गैरआवासीय नेपाली संघ, डेनमार्कका उपाध्याक्ष दिपकराज रिजालका अनुसार कार्यक्रममा विभिन्न बक्ताहरुले हुर्कदै गरेका दोस्रो पुस्तालाई एनआरएनप्रति आकर्षण गरी भाषा, संस्कृतिलाई जोगाउन एनआरएनले महत्वपुर्ण भुमिका खेल्न सक्ने धारणा राखेका थिए। साथै, सहभागीहरुले एनआरएन केन्द्रीय निर्वाचन प्रणालीमा गर्नुपर्ने सुधार, आर्थिक पारदर्शिता लगायतका विषयमा पनि धारणा राखेका थिए।
गैरआवासीय नेपाली संघ, डेनमार्कका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा कार्यक्रम भएको थियो। कार्यक्रममा राष्ट्रिय समन्वय परिषद डेनमार्कको स्थापना कालदेखि हालसम्मका कार्य समिति तथा आईसिसि प्रतिनिधि तथा डेनमार्क स्थित सामाजिक,राजनैतिक संघसंस्थाका प्रतिनिधिको सहभागता रहेको थियो।