फोेटो पत्रकारितामा कृयाशील महिला पत्रकारहरुले पत्रकारिता क्षेत्रमा ढुक्क भएर काम गर्ने वातावरण नभएको वताएका छन्।
उनीहरुले अहिले पनि घर,परिवार र समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेकोले पत्रकारिता क्षेत्रमा महिला सहभागिता कमी रहेको वताए।
नेपाल पत्रकार महासंघ महिला समितिले आयोजना गरेको महिला फोटो पत्रकारका चुनौती र नेपाल पत्रकार महासंघको दायित्व विषयक कार्यक्रममा सहभागी फोटो पत्रकार प्रेरणा शाक्यले पत्रकारिता क्षेत्रमा प्रवेश गर्न पहिल्यै घरैबाट सुरु भएको संघर्ष कार्यस्थल र समाजमा पनि गर्नुपर्ने वताइन्। उनले भनिन्, ‘महिलामैत्री वातावरण, उचित पारिश्रमिको अभावमा पत्रकारितामा महिला क्रियाशिलतामा कमी आएको छ।’
पत्रकार उषा तिवारीले फोटो पत्रकारिता गर्दा आफ्नो लगानीसहित गर्नु पर्ने भएको र त्यो लगानी उठ्ने गरी पारिश्रमिक पाउन नसकेको गुनासो गरिन्।
नेपाल टेलिभिजनका क्यामेरापर्सन ममता कोइरालाले सहअस्तित्वका लागि आफुहरु पत्रकारिता क्षेत्रमा कृयाशील भएको वताइन्।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रमा महिला पत्रकारहरुलाई टिकाई राख्नका लागि श्रमको उचित मुल्य र सञ्चारसंस्थामा महिलामैत्री वातावरण आवश्यक भएको बताए। पत्रकारहरुको सीप र क्षमता विकासका लागि लगानी हुनुपर्नेमा जोड दिदै उनले महासंघको तर्फबाट विधागत पत्रकारिताको प्रबद्र्धनमा विशेष चासो दिइदै आएको स्मरण गराए।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राधेश्याम दाहालले पत्रकारितामा चुनौति सहित अवसर पनि भएको वताए। उनले पत्रकारितामा फोटो सशक्त विधाको रुपमा आएको उल्लेख गर्दै यसलाई अबसरमा वदल्नु पर्नेमा जोड दिए।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा महिला विभाग संयोजक लक्ष्मी पुनले महिला पत्रकारहरुलाई पत्रकारिता क्षेत्रमा टिकाई राख्न नीतिगत, संस्थागत वा सीप क्षमता विकास कार्यक्रम ल्याउन आफुहरुले महासंघमा पहल गरिरहेको वताइन्।