त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिहीबारदेखि रोबोटको सेवा शुभारम्भ गरिएको छ ।
पर्यटनमन्त्री योगेश भट्टराईले कार्यक्रमबीच विमानस्थलमा दुई रोबोटको सेवा शुभारम्भ गरेका हुन् । पाइला टेक्नोलोजी प्रालिले दुई रोबोट निर्माण गरी अन्तराष्ट्रिय विमानस्थलमा सेवा शुरु गरेको हो । नेपालकै प्राविधिक र प्राविधिक जनशक्तिबाट तयार गरिएको रोबोटले विमानस्थलको सेवालाई स्तरीय पार्ने मात्रै नभई नेपाल प्रविधिका क्षेत्रमा अग्रसर भइरहेको सन्देश प्रवाह गर्न सहयोग पुग्ने देखिएको छ ।
भ्रमण वर्षका सन्दर्भमा नेपालका कुनै पर्यटकीय गन्तव्य, पदयात्रा लगायतको सेवाको जानकारी रोबोटले दिनेछ । नेपालमै पहिलो पटक प्रविधिको प्रयोग गरी जडान गरिएको यो रोबोटले अगाडि आउने र पछाडि जाने गतिविधि गर्छ । पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय र नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रयासमा विमानस्थलमा रोबोट सेवा शुरु गरिएको हो । दुवै रोबोटको लागत करिब रु २० लाख रहेको बताइएको छ । विमानस्थलको आगमन र प्रस्थान कक्षमा सो रोबोट राखिएको छ । पर्यटनमन्त्री भट्टराईले विमानस्थलको सेवालाई आधुनिक र विश्वस्तरीय बनाउन क्रमशः सेवा विस्तारका क्रममा रोबोट सेवा एक महत्वपूर्ण प्रयोग भएको उल्लेख गरे।
रोबोटले विमानस्थलको सेवालाई थप स्तरीय बनाएको छ । विमानस्थलको अध्यागमन सेवाको अत्याधुनिक प्रविधिको प्रयोग तथा सरसफाइ र सेवासुविधालाई बढाउँदै लैजाने मन्त्री भट्टराईको भनाइ थियो । उनले अझै स्थानको अभाव र कतिपय प्राविधिक समस्याका कारण विमानस्थलले प्रभावकारी सुविधा दिन नसकेको भन्दै छिट्टै सञ्चालनमा आउने गरी निर्माण भइरहेका विमानस्थलको सेवालाई चुस्त र दुरुस्त पारिने उल्लेख गरे ।