किमाथाङ्का र आसपासका गाउँमा खाद्यान्न अभाव देखिएको छ । खाद्यान्न अभाव भएपछि भोटखोला गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर सेनाको हेलिकोप्टरबाट केही दिनका लागि खाद्यान्न लगेको छ । तत्काललाई खाद्यान्न समस्या नहोस् भनेर हेलिकोप्टरबाट किमाथाङ्कामा सामग्री लगिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए ।
“अपर्झट किमाथाङ्का नाका चीनले बन्द गरेका कारण खाद्यान्न समस्या देखिएको हो”, दुलालले भने, “चीनले खबर गरेर नाका बन्द गरेको भए स्थानीयवासीले प्रशस्तै खाद्यान्न उताबाट ल्याएर भण्डारण गरेर राख्न सक्नुहुन्थ्यो, किमाथङ्कावासीले एक दिनको पनि मौका पाएनन् ।” किमाथाङ्काका निमा भोटेका अनुसार नाका बन्द भएपछि समस्या भएको छ । “हामी चागाँबजारको भरमा छाँै”, निमाले भने, “त्यहाँबाट खाद्यान्न आएन भने हाहाकार मच्चिन्छ, सदरमुकामबाट खाद्यान्न ल्याउन सक्ने सम्भावना छैन ।” सदरमुकाम खाँदबारीबाट सेनाको हेलिकोप्टरबाट ल्याएको खाद्यान्नले १० देखि १५ दिनसम्म मात्रै धान्ने पनि उनले बताए ।
किमाथाङ्कामा ४३०, छिमेकी गाउँ छुमसुरमा ८४, रिदाकमा ४४१ र थुदामका ४२ जना बसोबास गरिरहेका छन् । उनीहरुमध्ये किमाथाङ्काका लागि मात्रै खाद्यान्न लगिएको हो । बाँकी गाउँमा पैदलमार्गबाट खाद्यान्न पठाइने निमाले बताए । चीनले किमाथाङ्का नाका कहिले खोल्छ पत्तो छैन ।
हेलिकोप्टरबाट साढे चार हजार केजी खाद्यान्न
सङ्खुवासभाको भोटखोला गाउँपालिकाले किमाथाङ्काका लागि सात हजार किलोग्राम खाद्यान्न सदरमुकाममा तयारी अवस्थामा राखेको थियो तर सेनाको हेलिकोप्टरले दुई पटकमा चार हजार ५०० किलोग्राममात्रै लग्यो । बाँकी दुई हजार ५०० केजी सदरमुकाममै राखिएको छ । हेलिकोप्टरले नलगेपछि गाउँपालिकाले बोकाएर किमाथाङ्कासम्म खाद्यान्न लैजाने तयारी गरेको गाउँपालिका अध्यक्ष तेम्बा भोटेले बताए ।