नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीले आफ्नो कार्यकालमा अर्बौं रुपैंयाको सम्पत्ति जोडेको भन्दै संसदीय समितिमा उजुरी परेको छ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको कार्यदलले पूर्वप्रधानसेनापति क्षेत्रीले गरेको अनियमितता र भ्रष्टाचारको छानबिन गर्नुपर्ने भन्ने उजुरीलाई बिहीबारको बैठकमा पेश गरिएको हो।
गत असोजमा नेकपा सांसद रेखा शर्मा, दिलेन्द्रप्रसाद बडु र नबराज सिलवाल सदस्य रहेको कार्यदलले आफ्नो रायसहितको सुझाब दिएको हो। राज्य व्यवस्था तथा सुशासन समितिले प्राप्त गुनासो तथा उजुरीहरूको संक्षिप्त विवरण र उजुरी सुनुवाइ कार्यदल गठन गरेको थियो।
पूर्वप्रधानसेनापतिमाथि सेनाको मुख्यालय बनाउने तथा राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाक निर्माणमा अनियमितता गरेको आरोप लागेको छ।
क्षेत्रीमाथि परेको उजुरीमाथि सुनुवाइ गर्दै कार्यदलले सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा छानबिन गरी समितिलाई जानकारी गराउनका लागि लेखि पठाउनसमेत सुझाव दिएको छ।
सेनाको मुख्यालय बनाउने क्रममा व्यापक भ्रष्टाचार भएको दाबी गर्दै २०७५ भदौ २१ गते समितिमा उजुरी परेको थियो।