हात्तीपाइले रोग निवारणका लागि १२ औं पटक आम औषधि सेवन कार्यक्रम सञ्चालनको तयारी गरिरहँदा कपिलबस्तुमा अझै साढे १२ प्रतिशत हात्तीपाइले रोगका बिरामी रहेका तथ्य सार्वजनिक भएको छ। यसले कपिलबस्तु अझै पनि हात्तीपाइले रोगको उच्च जोखिममा रहेको देखिएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय कपिलबस्तुले ०७६ कात्तिकमा गरेको प्री–रिटास सर्भेअनुसार जिल्लामा साढे १२ प्रतिशत हात्तीपाइलेका बिरामी देखिएका हो।
हात्तीपाइले रोग निवारणका लागि जिल्लामा बर्षेनी एक करोडको हाराहारीमा खर्च हुने गर्छ। तर, कपिलबस्तु जिल्ला अझै जोखिममै रहनुले अभियान प्रभावकारी नभएको देखिन्छ। जनस्वास्थ्य कार्यालयले यसवर्ष सतप्रतिशतलाई औषधि खुवाउने तयारी गरेको छ।
जनस्वास्थ्य प्रशासक योगेन्द्र भगतका अनुसार यस वर्ष नया रणनितिका साथ हात्तीपाइलेको औषधि खुवाउने तयारी रहेको बताए। कार्यालयले तयारीका विषयमा जानकारी दिन गरेको पत्रकार अन्तत्र्रिmयामा जनस्वास्थ्य प्रशासक भगतले अभियानको तयारीलाई व्यापक बनाउन सबै पक्षसँग छलफल गरिरहेको बताए।
हात्तीपाइलेका जिवाणु प्रवेश गरेपछि मानिसमा अण्डकोष सुन्निने, हात, स्तन, गुप्तांग सुन्निने हात्तीको जस्ता पाइला हुन्छन्। हात्तीपाइलेको उच्च जोखिममा रहेको कपिलबस्तुमा लगातार १२ औं पटक यस वर्ष २५ देखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै छ।
लामखुट्टे हुने स्थानमा हात्तीपाइले रोगको संक्रमण हुने भन्दै जनस्वास्थ्य प्रशासक भगतले भने, मानिसहरूलाई नडराई औषधि सेवन गर्न जनस्वास्थ्यले आग्रह गरेको छ। ‘हात्तीपाइले रोगविरुद्धको औषधि सेवनले कसैको पनि मृत्यु नहुने विषयमा व्यापक प्रचार गर्नु आवश्यक छ।’
जनस्वास्थ्य कार्यालयले दुइबर्ष नपुगेका बालबालिका, गर्भवती, सात दिनसम्मकी सुत्केरी, दीर्घरोगी, ७० वर्षभन्दा बढी उमेरका र २४ घण्टाभित्र ज्वरो आएका, कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकालाई औषधि सेवन नगर्न अनुरोध गरेको छ । सन् २०२० सम्म हात्तीपाइले रोग निवारण गर्न विश्वव्यापी अभियान थालिएको छ।