खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाटमा संलग्न ६ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरी उनीहरुलाई आइतबार सार्बजनिक गरेको हो। विगत केही समयदेखि काठमाडौंमा घटेका बिभिन्न घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले नगदसहित उनीहरुलाई बिभिन्न ठाउँबाट पक्राउ गरेको हो।
काठमाडौं भगवानपाउ बस्ने सिन्धुपाल्चोक घर भएका ६३ बर्षीय बच्चुराम गुरुङलाई खुकुरी र फलामको लठ्ठी देखाई आँखामा खुर्सानीको धुलो छर्केर ५० लाख लुट्ने दाङ पुरन्धरा घर भई हाल मैत्रीनगर बस्ने बेदबहादुर भन्ने ३८ बर्षीय भीमबहादुर घर्तीसहित ६जनालाइ प्रहरीले बिभिन्न ठाउँबाट पक्राउ गरेको हो।
खोजी गर्ने क्रममा उपत्यकाको बिभिन्न स्थानबाट घटनामा संलग्न रहेका घर्तीसहित ६ जनालाई डाँका गरी लगेका नगद तथा अन्य दशीका सामानसहित पक्राउ गरी आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको महानगरीय अपराध महाशाखाले जनाएको छ।
पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर घर भई हाल काभ्रेस्थली बस्ने ३० बर्षीय नकुर तामाङ, रसुवा आमाछोदिङमो भर भई हाल तारकेश्वर बस्ने ३८ बर्षीय दावा छिरिङ तामाङ, रामेछाप घर भई हाल बालाजु बाइपास बस्ने ३६बर्षीय कुमार बहादुर बुढाथोकी, रसुवा उत्तरगया घर भई हाल काभ्रेस्थली बस्ने ३६ बर्षीय तेन्जिङ बहादुर तामाङ र रसुवा उत्तरगया घर भई हाल गोंगबु बस्ने २८ बर्षीय संजित वाईवा रहेका छन्।
प्रहरीले संजित वाईवाको साथबाट नगद रु २३ हजार पाँच सय, तेन्जिङ बहादुर तामाङको साथबाट नगद ५ लाख ८० हजार, बेद बहादुर भन्ने भिम बहादुर घर्ती मगरको साथबाट नगद ३ लाख पाँच हजार, नकुर तामाङको साथबाट नगद ४ लाख ३१ हजार, कुमार बहादुर बुढाथोकीको साथबाट नगद २ लाख पाँच हजार, र दावा छिरिङ तामाङको साथबाट नगद ३ लाख ३१ हजार बरामद गरेको छ।
यसैगरी उनीहरुको साथबाट डाँका गरी पाएको पैसाबाट किनेको मोटरसाईकल एक थान, डाँका घटनामा प्रयोग भएको मोटरसाईकल ३ थान, डाँका गरी पाएको पैसाबाट किनेको सुनको औठी एक थान, बिभिन्न कम्पनीको मोबाईलहरु रहेका छन्।
के गरे लुटको पैसाले?
उनीहरुसंग रहेको नगद बाहेक प्रहरीको अनुसन्धानबाट संजित वाईवाले डाँका गरी पाएको ५ लाखमध्ये २ लाख ११ हजार सानिमा बिकास बैंकमा जम्मा गरेको, पबित्र सुनचाँदी पसलबाट रु ७७ हजारको सुनको औठी बनाएको, इउउय मोबाईल रु १९,०००।– मा खरिद गरेको, घर बनाएको ऋण तिर्न रु १ लाख दिदिलाई दिई पठाएको पाइएको छ।
बेद बहादुर भन्ने भिम बहादुर घर्ती मगरले डाँका गरी पाएको ७ लाखमध्ये लु ५९ प २१३५ नं को २२० सि.सि. को पल्सर मोटरसाईकल रु ३ लाख ३० हजारमा किनेको, नगरकोटमा एकरात बसी होटेलमा खर्च गरेको पाइएको छ।
अर्का अभियुक्त दावा छिरिङ तामाङले डाँका गरी पाएको ५ लाखमध्ये मध्ये १ लाख ५० हजार सापट लिएको ऋण तिरेको अनुसन्धानबाट पत्ता लागेको छ।
कुमार बहादुर बुढाथोकीले डाँका गरी पाएको ४ लाख ५० हजारमध्ये ७५ हजार घरभाडा तिरेको, तथा १ लाख २५ हजार ठेकेदारको ऋण तिरेको पाइएको छ। यसैगरी, नकुर तामाङले डाँका गरी पाएको ५ लाखमध्ये ३० हजार फाईनान्सको किस्ता तिरेको, अन्य बाँकी नगद खाई मासेको पाइएको छ।