स्वास्थ्य मन्त्रालयले दिएको सरकारी एम्बुलेन्समा गाँजा तस्करी हुने गरेको पाइएको छ। मन्त्रालयले रौतहटस्थित स्वास्थ्य चौकी डुमरीयालाई दिएको बा २ झ १७४९ नम्बरको एम्बुलेन्समा गाँजा तस्करी भएको पाइएको हो। उक्त एम्बुलेन्सबाट ३० किलो गाँजासहित प्रहरीले चालक तथा अन्य २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा एम्बुलेन्स चालक रौतहटको डुमरीया नगरपालिका–९ का ३९ वर्षीय महमद खलिद, डुमरीया–४ का १९ वर्षीय अशोककुमार र भारत बिहार मोतिमारी बसन्तपुरका २२ वर्षीय विनोद सहनी छन्। उनीहरुलाई शनिबार साँझ पौन ७ बजे इलाका प्रहरी कार्यालय नेवारपानीले सोही इलाकाको पूर्व पश्चिम राजमार्गबाट पक्राउ परेका हो।
मनहरीबाट हेंटौडातर्फ जाँदै गरेको उक्त एम्बुलेन्सलाई जाँच गर्दा ३ वटा झोलामा ६ वटा प्याकेट बनाएर ३० किलो गाँजा तस्करी गरेको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेका व्यक्तिहरुको साथबाट ९१ हजार नेपाली रुपैयाँ र २ हजार २ सय भारु बरामद गरेको छ।