खतरनाक कोरोना भाइरस तीव्र रुपमा फैलँदै गएपछि चीनको वुहानमा सार्वजनिक यातायात बन्द गरिएको छ। भाइरस फैलनँबाट जोगाउन अधिकारीहरुले सार्वजनिक यातायात बन्द गर्ने निर्देशन दिएका हुन्।
सरकारले १ करोड १० लाख जनसंख्या भएको उक्त शहरका बासिन्दालाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ। चिनिया नयाँ वर्षको अवसर भएकाले यो समय चीनमा भ्रमणको समय मानिन्छ ।
श्वासप्रश्वासजन्य यो रोग चीनका अन्य भागमा फैलिन थालेको छ भने अमेरिकामा पनि यसका संक्रमित देखिएका छन्। चीनमा अहिलेसम्म यो भाइरसबाट ५ सय मानिस संक्रमित भएको पाइएको छ भने १७ जनाको मृत्यु भइसकेको छ।
यसको लक्षण रुघाजस्तै लक्षण देखिने बताइएको छ। यसअघि पनि रुघाजस्तै देखिने सार्सको संक्रमणबाट सन् २००२ मा विश्वभर ८ सय मानिसको मृत्यु भएको थियो।
खासगरी कोरोना भाइरसको संक्रमणबाट वुहान प्रान्तको हुवेई बढी प्रभावित भएको छ।
यसैबीच, जेनेभामा बसेको विश्व स्वास्थ्य संगठनको बैठकले यस अवस्थालाई विश्वव्यापी आपत्काल घोषणा नगर्ने जनाएको छ। यसबारे बिहीबारको बैठकमा थप छलफल गर्ने संगठनका महानिर्देशक डा टेड्रोस घेब्रेयीससले बताएका छन्। यसअघि डब्लुएचओले स्वाइन फ्लु, जिका भाइरस र इबोलाको महामारीका बेला विश्व स्वास्थ्य आपत्काल घोषणा गरेको थियो।