पूर्वराष्ट्रपति डा. रामवरण यादवले दिलीप महतोले सञ्चालन गरेको अवैध बालुवा गिट्टी उत्खनन्विरुद्धको अभियानलाई युवाहरूले निरन्तरता दिनुपर्ने बताएका छन्।
धनुषाको मिथिला नगरपालिकामा दिलीपको १३औँ पुण्यतिथिको अवसरमा मंगलबार भएको कार्यक्रममा यादवले शोकलाई शक्तिमा बदल्नुपर्ने बताउँदै चुरे फँडानी तथा अवैध दोहनविरुद्ध सचेत युवाहरुले आवाज उठाउनुपर्ने बताए। ‘चुरे र अवैध दोहनतर्फ सरकारको ध्यान गएन भने नेपालमा पनि अतिवृष्टि, अनावृष्टि, सुख्खाजस्तो प्रकोप आउन धेरै दिन लाग्दैन।' उनले चुरे फडानी र अवैद्ध उत्खनन्विरुद्ध तीनै तहका सरकारलाई आफ्नो दायित्व पूरा गर्न आग्रह गरे।
पूर्वराष्ट्रपति डा. यादवकै पालामा राष्ट्रपति तराई मधेस चुरे संरक्षण कार्यक्रम सुरुवात भएको थियो। मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीपको घर नजिकैको औरही खोलामा भइरहेको अवैध दोहन रोक्न जाँदा गएको पुस २५ गते बिहान हत्या गरिएको थियो।