अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा बेपत्ता भएका चार कोरियन र तीन नेपाली नागरिकलाई हालसम्म फेला पर्न सकिएको छैन ।
पदयात्रा क्षेत्रको हिमालयनबाट माथि देउरालीको बीच करिब तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गत माघ ३ गते बिहान १० बजेको आएकोे हिमपहिरोमा परी उनीहरु सम्पर्कविहीन हुन पुगेका थिए । घटनामा केही विदेशी पर्यटक तथा नेपाली उम्किन सफल भएका थिए । नेपाली पथप्रदर्शक सरोज परियार,सहयोगी मीनबहादुर लामा(तामाङ) र छिरिङ भोटे तथा कोरियन नागरिक लि मिन सु, जोङ्गपिल बोङ्ग, किम सोक जा र चोइ जो वोनको अवस्था हालसम्म अज्ञात रहेको जनाइएको छ ।
टेकिङ्ग एजेन्सीज् एशोसिएशन) अफ नेपाल(टान) पश्चिमाञ्चल सङ्घ पोखराले आइतबार पत्रकार सम्मेलन आयोजना गरी हराइरहेका पर्यटकको खोजी कार्यमा प्रतिकूल मौसमका कारणले कठिनाइ भएको जनाएको छ । घटनास्थलमा बाक्लो हिउँ जमेको तथा अहिले पनि हिउँ पर्ने क्रम नरोकिएकाले बेपत्ता भएकाको अवस्था हालसम्म पनि यकिन हुन नसकेको टानका अध्यक्ष हरि भुजेलले जानकारी दिए । घटनास्थल भौगोलिकरुपमा अत्यन्त विकट रहेको तथा सञ्चार, सडकलगायतका कुनै पनि पूर्वाधार नभएकाले समेत खोजी कार्यमा अप्ठ्यारो भएको बताइन्छ ।
शनिबार हिमपहिरोमा परी घाइते भएका एक जना चिनियाँ नागरिक ज्वाङ यिङ र उहँका पदयात्रा सहयोगी जगदिश खत्रीलाई उद्धार गरी पोखरास्थित फेवासिटी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।
चार चिनियाँ पर्यटक सम्पर्कमा
यसैबीच थ्रोङला पार गर्ने क्रममा मनाङबाट सम्पर्कविहीन भएका चार चिनियाँ पर्यटक आइतबार सम्पर्कमा आएका छन् । ती पर्यटक थ्रोङला पार गरेर मुस्ताङ आइपुगेको पर्यटन प्रहरी कार्यालय पोखराका प्रहरी सहायक निरीक्षक टीकाराम पौडेलले जानकारी दिए । मनाङको निस्याङ गाउँपालिका–९ मा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको चेकपोष्टमा गत पुस २७ गते थ्रोङ्ला पासका लागि अनुमति लिएका उनीहरु सम्पर्कमा नआएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।