विराटनगरलाई सुन्दर र हराभरा सहर वनाउन विराटनगरमा महानगरपालिकाले आइतबारदेखि महानगर सौन्दर्यकरण अभियान शुरु गरेको छ।
विजुलीको पोलमा स्ट्याण्डसहित फुलको गमला र फोहर फाल्ने डस्टविन राखेर महानगरपालिकाले सौन्दर्यकरण अभियान शुरु गरेको हो।
महानगरपालिका प्रमुख भीम पराजुली र उपप्रमुख इन्दिरा कार्की तथा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले अभियानको शुभारम्भ गरेका हुन्।
पहिलो चरणमा विराटनगरको तिनपैनी चौकदेखि ट्राफिक चौकसम्मको ८० वटा विजुलीको पोलमा वाह्रै महिना फुल्ने फूलका विरुवा तथा डस्टविन राख्ने अभियान शुरु गरिएको महानगरपालिकाका प्रमुख पराजुलीले जानकारी दिए। महानगरपालिका र रोटरी क्लव विराटनगरको सहयोगमा अभियान शुरु भएको हो। महानगरपालिकाका फराकिला सडक तथा चौकलाई हरित वनाउन अभियान शुरु भएको हो।
कार्यक्रममा वोल्दै महानगरप्रमुख पराजुलीले विराटनगर महानगरपालिकाको सडक तथा नाला निर्माणको काम अन्तिम चरणमा पुगेकाले अव महानगरलाई सौन्दर्य र सरसफाई गर्ने अभियानमा शुरु गरेको उल्लेख गरे।
रोटरी क्लव विराटनगरकी अध्यक्ष अर्चना तापडिया तथा लायन्स क्लवका डिष्टिक गभर्नर किरणराज श्रेष्ठले महानगरलाई सफा र सौन्दर्य वनाउन महानगरवासीको सहयोग आवश्यक रहेको वताए। अभियान शुरु भएकाले गमलामा रहेका घर अगाडिको फूलको हेरचाह गर्न तथा डस्टविनमा मात्र फोहर फालेर सहरलाई सौन्र्दय वनाउन महानगरपालिकाले आग्रह समेत गरेको छ ।