गायिका आस्था राउतविरूद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ।
राउतलाई अभद्र व्यवहार कसुरको जाहेरी दर्तामा पक्राउ गर्न जिल्ला प्रशासन कार्याल काठमाडौंले आइतबार प्रहरीलाई अनुमति दिएको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीका अनुसार अब राउत औपचारिक रूपमै प्रहरी खोजी सूचीमा परेकी हुन्।
राउतविरूद्ध आइतबार काठमाडौं प्रहरीमा अभद्र व्यवहार मुद्दाको जाहेरी जाहेरी दर्ता भएको थियो। प्रहरी जवान रमिसा श्रेष्ठले दिएको अभद्र व्यवहार कसुर अन्तर्गतको जाहेरी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गरेको थियो।
प्रहरी कर्मचारीलाई बुधबार दुर्व्यवहार गरेको प्रारम्भिक प्रतिवेदनलाई नै जाहेरी मानेर प्रहरीले राउतमाथि अभद्र व्यवहार कसुरको मुद्दा दर्ता गरेको हो। प्रमुख जिल्ला अधिकारीले हेर्ने अभद्र व्यवहार कसुरको मुद्दामा एक वर्षसम्म कैद र जरिवाना हुने व्यवस्था छ।