खाली जग्गा सदुपयोग गरेर पूर्वमन्त्री लोकेन्द्र विष्टमगरसहित तीनजनाले ड्रागनखेती गरेपछि त्यो ठाउँ अहिले हरियाली बनेको हो । “ड्रागन फ्रुटको बिरुवा लगाएको दुई/तीन वर्षपछि मात्रै फल दिन्छ”, मगरले भने, “तर हामीहरुले छिप्पिएका बिरुवा लगाएर होला, नौ महिनामै फल दियो ।” नौ महिनामै फलेपनि अझै परिपक्क भएको छैन । पहिलो चरणमा थोरै फल दिए पनि आगामी असार, साउन, भदौमा राम्रो उत्पादन दिने मगरको भनाइ थियो ।
“एउटै बोटबाट तीन/चार केजी फल लाग्छ”, उनले भने, “त्यतिबेला करिब चार/पाँच टन उत्पादन होला ।” दाङमा अहिले आफूले ६६ कट्ठामा ड्रागन फ्रुटखेती गरेको भन्दै केही अनुसन्धानकर्ताले नेपालमा यो नै सबैभन्दा ठूलो क्षेत्रफलमा गरिएको खेती भएको बताउने गरेको मगरले बताए । उनले भने, “अझै ठूलो क्षेत्रफलमा यो खेती हुन सकेको छैन, तर आकर्षण बढ्दै गएको छ ।” अहिले फार्ममै आएर धेरैले यो खेतीका बारेमा बुझ्ने गरेका छन् भने केहीले बिरुवा लैजाने गरेका छन् ।
रोग प्रतिरोधात्मक क्षमता धेरै भएकाले यसको खेती वस्तार गर्न ध्यान दिनुपर्ने उनको सुझाव छ । “यो फल किन्न महँगो पर्छ, स्वास्थ्यका हिसाबले एकदमै महत्वपूर्ण भएकोले यो खेती विस्तार गर्ने सोेच बनाएका छौँ”, मगरले भने । नेपालमा यो फ्रुट उत्पादन हुन सकेको छैन । न्यून मात्रामा भियतनामलगायतबाट आउने यो फ्रुट बजारमा पाइन्छ ।रासस