शताब्दी पुरुष सत्यमोहन जोशीले विसं १९९० को भूकम्प पश्चात उपत्यकाबासी काठमाडौँको टुँडिखेलमा गएर रात बसेको स्मरण गरेका छन् । उनले भने, “त्यस बेला टुँडिखेल एशियाको सबैभन्दा ठूलो ठाउँ थियो ।
हाल टुँडिखेल सानो बन्दै गएको हुँदा त्यसको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।” राष्ट्रिय भूकम्प सुरक्षा दिवस–२०७६ का अवसरमा ललितपुर महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा शताब्दी पुरुष जोशीले विगतमा टुँडिखेलबाट हिमाल र पहाड छर्लङ देखिने स्मरण गरे ।
उनले अग्ला घरका कारण हिमाल छेकिन पुगेको गुनासो समेत गरे। कार्यक्रममा ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले पाटनमा सम्भाव्य जोखिम न्यूनीकरणका गर्न भवन निर्माण आचारसंहितालाई अनिवार्य लागू हुनुपर्ने बताए ।
ललितपुरका प्रजिअ भगीरथ पाण्डेले भविष्यमा दोहोरिने सङ्कटको विचार गरी निजी घर बनाउन आग्रह गरे ।