अवैध रुपमा नेपाल भित्रिएको रक्तचन्दन आगामी ९० दिनभित्र भारत फिर्ता गरिने भएको छ । नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत भारतको सम्बिन्धत अधिकारीलाई ‘साइटिस’ अभिसन्धि अनुसार कूल एक लाख ७३ हजार ७२ केजी रक्तचन्दन फिर्ता गर्न लागिएको हो ।
‘संकटापन्न वन्यजन्तु तथा वनस्पतीको अन्तरराष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३’ को दफा ३० अनुसार ती रक्तचन्दनका काठ जेजस्तो अवस्थामा रहेको भएपनि फिर्ता गर्ने निर्णय भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जेजस्तो अवस्था र स्थानमा छ, सोही अवस्था र स्थानबाट आफ्नै खर्चमा ९० दिनभित्र रक्तचन्दन उत्पत्ति भएको मुलुक भारत फिर्ता लैजान स्वीकृति दिइएको जानकारी दिए । अवैध तरिकाले भित्र्याइएका रक्तचन्दन पक्राउका लागि सरकारले प्रहरी जनशक्ति परिचालन गर्नुपरेको थियो ।