प्राचीन कपिलवस्तु दरबार क्षेत्र (तिलौराकोट) मा उत्खनन् शुरु गरिएको छ।
नेपाल सरकार पुरातत्व विभाग, बेलायतको दुरह्याम विश्वविद्यालय, लुम्बिनी विकास कोष, राष्ट्यि तथा अन्तर्राष्टिय विज्ञहरुको टोलीद्धारा प्राचीन कपिलवस्तु दरबार क्षेत्रमा मंगलबारदेखि उत्खनन् शुरु गरिएको हो।
युनेस्को जापानिज फण्ड्स इन टष्टको आर्थिक सहयोगमा शुरु गरिएको उत्खनन् दुई महिनासम्म हुनेछ। अनुसन्धान गर्ने क्रममा उत्खनन्, संरक्षण र अन्वेषणका कार्यहरु अगाडि बढाइएको पुरातत्व विभागका प्रवक्ता एवं प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले जानकारी दिए। यस बर्ष तिलौराकोट दरबारको सेन्ट्रल कम्प्लेक्स, समयमाई मन्दिर, कन्थक स्तुुपा, शिवगढ र तिलौराकोटको उत्तरतर्फको खाली ठाउँमा उत्खनन् गरिने कुँवरले बताए।
मध्यभागको सेन्ट्रल कम्प्लेक्सको पश्चिमी गेटको खोजी गरिने छ। यस्तै, शिवगढ र तिलौराकोटको उत्तर बाहिर खाली ठाउँमा रहेको स्थलमा पहिलो पटक उत्खनन गर्न लागिएको हो। वैज्ञानिक तरिकाले उत्खनन, अन्वेषण, भुभौतिक सर्वे, फिल्ड वाकिङ जियोफिजिक्स सर्वे, भिजिटर सर्वे गरी अध्यययन अनुसन्धान गरिने कुँवरले बताए।
यसबाट तिलौराकोटलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्न आवश्यक पर्ने प्रमाण जुटाउन सजिलो हुने कुँवरले बताए।