आफनै छोरीको हत्या गरी शव जलाएर गाडेको आरोपमा आमासहित ४ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका ९ शिवबर्वाकी ३० वर्षीया शिवकली देवी, ३९ वर्षीय राजेन्द्र महतो तत्वा, २८ वर्षीय सन्तोष महतो तत्वा र ट्याक्टर चालक वडा नम्बर ८ बस्ने १९ वर्षीय सुबोध भन्ने जितेन्द्र यादव रहेका छन्।
पक्राउ परेकी शिवकली १५ वर्षीया बालिकाकी आमा हुन् भने राजेन्द्र र सन्तोष काका भएको प्रहरीले जनाएको छ। पुनिताका बुवा वीरेन्द्र दास तत्वा भने फरार रहेको प्रहरीले जनाएको छ।
कुटपिट गरेर मारेको आशंकामा आमा शिवकलीसहित ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी वीरेन्द्र शाहीले जानकारी दिए।
प्रहरीले गोप्य सूचनाको आधारमा घटनास्थल पुगेर अनुसन्धान गरेको हो। घटनाको प्रकृति हेर्दा डिजल हालेर शव जलाएको र बचेको भाग अलि पर लगेर गाडेको देखिएको प्रहरीको भनाई छ।