म्यानमारका पर्यटन मन्त्री यु ओन मुउङसहितको टोलीले प्राचीन कपिलवस्तु दरबारको अवलोकन गरेको छ।
पर्यटन मन्त्रीसहितको टोलीले भगवान गौतम बुद्धले २९ वर्ष बिताएको ठाउँ कपिलवस्तु, राजा शुद्दोधनको दरबार तिलौराकोट, सो दरबार क्षेत्रको उत्खनन् गरिएका पूर्वी र पश्चिमी द्वार, सुरक्षा पर्खाल लगायतको अवलोकन गरेका हुन्। बुद्धले २९ बर्ष विताएको र गृहत्याग गरेको ठाँउमा आउन पाउदाँ अत्यन्तै हर्षित भएको म्यानमारका पर्यटन मन्त्री यु ओन मुउङले बताए। यो क्षेत्रमा भइरहेको कामप्रति अति नै उत्साहित भएको उनले बताए।
उनले भने गौतम बुद्ध विमानस्थल संचालन भएपछि म्यानमारबाट सिधै लुम्बिनी पुग्न सकिने बताए। मन्त्री मुउङले लुम्बिनी र कपिलबस्तुको भ्रमण गर्ने व्यवस्था मिलाइदिइएकोमा नेपाल सरकारलाई धन्यवाद दिए।
तिलौराकोट दरबारमा लगातार गरिएको उत्खनन् र अन्वेषणले प्राचीन कपिलवस्तुमा बुद्धकालीन समयभन्दा अघि नै मानव सभ्यताको विकास भएको देखिएको बेलायतको दुर्हम विश्वविद्यालयसहितको टोलीले गरेको अध्ययन–अनुसन्धानपछि पुष्टि भएको लुम्बिनी विकास कोष कपिलवस्तुस्थित सम्पर्क कार्यालयका कार्यालय प्रमुख माधव प्रसाद आचार्यले पथ प्रदर्शन गर्दै पर्यटन मन्त्री यु ओन मुउङलाई जानकारी गराएका थिए।
भ्रमणमा पर्यटन मन्त्री यु ओन मुउङकी श्रीमती र भुटानका पर्यटन बोर्डका डि जि दोर्जी देरादुल र उनको श्रीमती, नेपालका लागि म्यानमारका राजदुत लगायतको टोली थियो। म्यानमारका पर्यटन मन्त्रीसहितको टोलीलाई प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव, नगर प्रमुख किरण सिंह, पुरातत्व अधिकृत हिमाल उप्रेती लगायतले स्वागत गरेका थिए।