आफ्नो जग्गा अधिग्रहण भईरहेकोले मुआब्जा पाउनुपर्ने माग गर्दै तीन स्थानिय तहका हुलाकी सडक पीडितहरु आन्दोलित भएका छन ।
तौलिहवादेखि महराजगंज बहादुरगंज,झिंगहा ,भगवानपुर हुदै गुगौलीसम्म बन्न लागेको हुलाकी सडकले अधिग्रहण गर्न लागेको व्यक्तिगत जग्गाको मुआब्जा माग गर्दे जिल्लाको तीन स्थानिय तह कृष्णनगर नगरपालिका,विजयनगर गाउंपालिका र शिवराज नगरपालिकाका पीडितहरु संगठित भई आन्दोलन शुरु गरेका छन । शनिबार पीडितहरुले भेला भई रामप्रकाश चौधरीको नेतृत्वमा हुलाकी सडक पीडित संघर्ष समिति गठन गरेका छन ।
व्यक्तिगत नाममा रहेका जग्गाहरु सरकारले हुलाकी सडक फराकिलो बनाउन क्रममा अधिग्रहण गर्दै आएकाले कईयौं सर्वसाधारण घरविहिन हुनुका साथै सयौं गाउंका नम्बरी जग्गा बाटोमा जाने संघर्ष समितिका अध्यक्ष रामप्रकाश चौधरीले बताए । नेपाल को संविधान २०७२ को जग्गा प्राप्ति सम्बन्धि प्रचालित ऐनमा पनि कुनै सार्वजनिक कामको निमित्त कसैको व्यक्तिगत जग्गा अधिग्रहण गर्नुपरेमा सो बापत मुआब्जा जग्गाधनिलाई उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ तर हुलाकी सडक निर्माण भईरहेको प्रारम्भिक खण्डमा जग्गा अधिग्रहण गर्दा मुआब्जा नपाईएकोले पीडित सबैले आन्दोलन गर्ने विकल्प रोजेको अध्यक्ष चौधरीले जानकारी गराएका छन ।
तौलिहवादेखि गुगौलिसम्म कुल पांच स्थानियतह पर्ने भएकाले हजारौंको संख्यामा जग्गा अधिग्रहण गर्ने देखिन्छ ,धेरैजसो घर(जग्गाविहिन हुने भएका छन् । ती सबैलाई व्यवस्थापन गर्न सरकारले उचित मुआब्जा उपलब्ध गराउनुको विकल्प नरहेको समितका उपाध्यक्ष नागेन्द्र प्रसाद उपाध्यायको भनाई छ । विजयनगर गाउंपालिका वडा ५ मा हुलाकी सडकमा बाह्र कट्ठा जग्गा अधिग्रहण भईरहेका जानकारी गराउदै उपाध्यक्ष उपाध्यायले सरकारसंग मुआब्जाको माग गरेका छन् ।
त्यस्तै भेलामा उपस्थित कृष्णनगर नगरपालिकाका बहादुरगंज, विजयनगर, बकौली , बसवरिया , झिंगहा लगायतका गाउँ तथा शिवराज नगरपालिकाका शिवगढीतिर पनि हुलाकी सडक अधिग्रहण पीडित हरु मुआब्जाको माग राख्दै आन्दोलनमा उत्रिएका छन । कुल ५१ सदस्यीय संघर्ष समिति बनाएका पीडितहरुले हाम्रो आन्दोलन लाई सरकारले संवेदनशील भई सुनेन भने सशक्त आन्दोलनतिर जान बाध्यहुने बताएका छन्।