जिल्लामा राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम तौलिहवामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि एवम् जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनाल जनगणनाले विकास निर्माणको काममा ठुलो टेवा पुर्याउने बताए । उनले भने जनगणना १०।१० बर्षमा नभई ५।५ बर्षमा हुनु पर्ने बताए । गणना चौक चौरहा, नबसी प्रत्येक पालिकाको गाँउ गाँउमा लिनु पर्ने संयोजक खनालले बताए ।
सबै सरोकारवालालाई मार्ग दर्शन गर्न सजिलो हुनको लागि जनगणना अवश्यक रहेको विजय नगर गाँउपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताए । कुनै पनि योजना बनाउन जनगणना महत्व पूर्ण रहेको अध्यक्ष थापाले बताए ।
अन्तरक्रिया कार्यक्रममा आगामी जनगणना संचालन र व्यवस्थापन तथा तयारी योजना लगायतका विविध विषयगत तथा प्राविधिक पक्षमा प्रारम्भिक मार्गचित्र जानकारी गराउनुका साथै संघीय संरचनामा तीनवटै सरकारलाई आवश्यक पर्ने सूचना, तथ्यांक र प्रश्नावलीमा सुधार आदिका बरेमा छलफल गरिएको हो ।
सो कार्यक्रममा तथ्याङ्क कार्यालय कपिलबस्तुका तथ्याक अधिकृत नन्दलाल कुर्मीले प्रस्तावित कार्यपत्र प्रस्तुत गरेका थिए । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले विगतका वर्षहरुमा गणकहरु कतीपय ठाउँमा त प्रत्येक घरमा नपुगेरै पनि अनुमानको भरमा जनगणना गरेको बताएका छन् । २०७८ सालमा हुन लागेको जनगणना गुणस्तरीय र विश्वाशिलो हुनुपर्नेमा कार्यक्रममा सहभागी सबैले जोड दिए ।
कार्यक्रम तथ्याङ्क कार्यालय कपिलबस्तुको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठको रहेको थियो । कार्यक्रममा विभिन्न पालिकाका प्रमुख एवम् प्रतिनिधि, जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधि, गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनीधि, उद्योग बाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी, शिक्षक पत्रकार लगाएतको सहभागिता रहेको थियो ।