धनुषामा शंकास्पद वस्तु फेला परेको छ। धनुषा सदरमुकामसमेत रहेको प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम–९ को संकटमोचन मन्दिर र बाह्रबिघा मैदान नजिकै शंकास्पद वस्तु भेटिएको हो।
प्लाष्टिकमा बेरिएको अवस्थामा बमजस्तै शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएकाे छ।
शंकास्पद वस्तु राखिएको संकटमोचन मन्दिरनजिकै अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्ने प्रयास गरिरहेको छ। यही टोली शंकास्पद वस्तु भेटिएको बाह्र बिघामा जाने धनुषा प्रहरी प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए।
गत शुक्रबार राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगरमा शक्तिशाली बम विस्फोट भएको थियो। उक्त विस्फाेटका कारण एकै घरका बाबु छाेरा र प्रहरी निरीक्षककाे मृत्यु भएकाे थियाे।