रुपन्देहीको तिलोत्तमामा घाँस काट्दै गरेकी महिलाको हत्या भएको छ। तिलोत्तमा नगरपालिका–१० कान्छिबजारकी अन्दाजी ५५ वर्षीया कमलादेवी परियारको शनिवार दिउसो हत्या भएको हो।
स्थानीय २७ वर्षीय विकास गुरुङले परियारको हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
कान्छी बजारमा जग्गा प्लटिङ गरेको स्थानमा घाँस काटिरहेकी कमलादेवीलाई गुरूङले धारिलो हतियार प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।
गुरुङले प्रहार गरेको धारिलो हतियारबाट कमलादेवीको घाँटीमा गम्भीर चोट लागेको थियो। गम्भीर घाइते भएकी उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो। गुरुङलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको भट्टराइले बताए।