मोबाइलको प्रलोभनमा पारेर कपिलवस्तुकाे मायादेवी गाउँपालिका–२ गंगापुर भैसकुन्डाका एक युवाले एक नाबालिकालाइ बलात्कार गरेको पीडितको आरोप छ।
घटना गत मंसिर १९ गते बिहीबार साँझ ६ बजेको हो। आफ्नो खेतमा धनियाको पात टिप्न गएको समयमा ती युवकले धम्काउँदै मोटरसाइकलमा राखी दुई दिनसम्म अपरिचित स्थलमा लगेर पटकपटक बलात्कार गरेको उनले बताइन्।
२२ वर्षीय युवकले १६ वर्षीया किशोरीलाई प्रलोभनमा पारी वेपत्ता तथा अपहरण बन्धक बनाइ दुई दिनसम्म बलात्कार गरी अलपत्र छाडेपछि घटना सार्बजनिक भएको हो। पत्रकारहरुसंग बिहिबार कुरा गर्दै पीडितले घटनाबारे जानकारी गराएकी हुन्। पत्रकार भेटघाटको समयमा पीडित बालिका, उनका बुवा र दाइ तथा केही गाउँलेसमेत उपस्थित थिए।
पीडित बालिकाले गाउँकै छिमेकी दाई पर्नेले घटनाको करिब १० दिनअघि आफुलाई सिमसहितको मोबाइल फोन दिएर राती पटकपटक भेट्न बोलाउने गरेको बताइन्। उनले भनिन्, ‘घटना सम्बन्धमा कसैलाई भनेमा ज्यान मारिदिने धम्की दिएकाले डराएर कसैलाई नभनेकी हुँ।’
त्यस साँझ खानाको जोहोका लागि धनियाको पात टिप्न खेततिर गएकी ती बालिका एक्कासी बेपत्ता भएपछि गाउँमा होहल्ला मच्चिएको थियो। त्यसबारे थाहा पाएपछि ती युवकले मंसिर २१ गते लुम्बिनी क्षेत्रको पडरिया चोकदेखि पूर्व सडकमा अलपत्र छाडेर भागेको पीडितको आरोप छ।
गाउँकै एक युवा नेताले आफूलाई बोलाई लुम्बिनीको पडरिया गाउँ नजिकको बाटोमा बहिनी रहेको जानकारी दिएपछि लुम्बिनी क्षेत्रबाट सोही दिन दिउँसो २ बजे फेला पारी घर ल्याएको पीडित बालिकाका दाईले बताए।
‘घरमा आएपछि छोरीले सबै कुरा रुँदै बताइन’्, पीडितका बाबुले भने ‘त्यसपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी दिन गएँ प्रहरीले उजुरी लिनै मानेन।’ पीडित बालिकाको बाबुले दुःखेसो पोख्दै भने, ‘इलाका प्रहरी कार्यालय लुम्बिनीले भैरहवास्थित भीम अस्पतालमा शारीरिक परीक्षण गराइ घटनास्थल कपिलवस्तु रहेकोले उतै सम्पर्क राख्न भन्यो।’ तर घटना लुम्बिनीमा भएकोले त्यही दर्ता गराउन भनी जिल्ला प्रहरी काार्यलय कपिलवस्तुबाट समेत फर्काइएको उल्लेख गर्दै उनले भने, ‘अब न्याय खोज्न कहाँ जाने?’ आफनो नाबालिक छोरीलाई बलात्कार गर्नेलाई कडा कारबाही हुनुपर्ने उनको माग छ।
घटनाको विषयमा ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीसंग बुझ्दा पीडितलाई खबर गरे पनि नसम्पर्कमा नआएको र कुनै जाहेरी पनि नपरेको बतायो।
मधेश मानव अधिकार गृह (माहुरी होम) का अध्यक्ष रवि ठाकुर लगायतका अधिकारकर्मी घटना जिल्लामै भएको र पीडितका अनुसार बालिका दुई दिनपछि फेला मात्र लुम्बिनी क्षेत्रमा परेकोले दर्ता कपिलवस्तु जिल्लामै हुनुपर्ने बताउँछन्। अधिकारकर्मी ठाकुर समय बित्दै गए प्रमाण हराउने हुनाले घटनाको यथाशिघ्र सत्यतथ्य छानबीन गरी दोषीलाई कानुनी दायरामा ल्याइनुपर्ने बताउँछन्।
मुलकी अपराध संहिता अनुसार १८ वर्ष मुनीका नाबालकको हकमा सहमति वा असहमति दुवै अवस्थामा करणी गैरकानुनी मानिन्छ। संहितामा १६ देखि १८ वर्षमुनीका बालिका करणी गर्नेलाई १० देखि १२ वर्ष कैद हुन सक्ने प्रावधान छ।