जिल्लामा लैंगिक हिंसाको डरलाग्दो तथ्यांक देखिएको छ । जिल्ला प्रहरी कार्यालयको पछिल्ला ३ वर्षको तथ्यांकअनुसार १ हजार ४ सय ५३ विभिन्न हिंसाका घटना दर्ता भएका छन् । आव ०७४/७५ देखि ०७६/७७ को कात्तिक मसान्तसम्म उक्त घटना दर्ता भएको प्रहरीले जनाएको छ ।
तथ्यांकअनुसार १ हजार १ सय ५५ सामाजिक हिंसाका घटना मिलापत्रमा टुंगिएका छन् । यस्तै ३ वर्षमा महिलामाथि भएका सामाजिक हिंसाका घटनामध्ये १ सय ६० घटना मात्रै सम्बन्धित निकाय अर्थात् स्थानीय तह तथा अदालतमा गएका प्रहरी प्रमुख एवं (प्रहरी उपरीक्षक) वीरबहादुर ओलीले बताए । वार्षिक लाखौं बजेट खर्चेर पनि लैंगिक हिंसाका घटना कम हुनुको साटो बढिरहेका पाइएको हो ।
प्रहरीका अनुसार चालू आव ०७६/७७ को कात्तिक मसान्तसम्म २०२ घरेलु हिंसाका ठाडो उजुरी परेका छन् । त्यसमा सबैभन्दा बढी श्रीमान्-श्रीमतीबीच भएका घटना १ सय ७६ छन् । यस्तै आव ०७५/७६ मा भने उजुरीको संख्या बढेर ७ सय ११ पुगेको तथ्यांकले देखाएको छ । त्यसमध्ये सबैभन्दा बढी श्रीमान्-श्रीमतीबीचका घटना ५ सय १२ छन् ।
आव ०७४/७५ मा ४८३ घरेलु हिंसाका ठाडो उजुरी परे । यीमध्ये सबैभन्दा बढी श्रीमान्–श्रीमतीबीचका घटना ३ सय ८ रहेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक ओलीका अनुसार घरेलु हिंसाका घटनाको ठाडो उजुरीमा श्रीमान्-श्रीमती, सासू-बुहारी, देवरानी-जेठानी र अन्यका बीचमा भएको झै-झगडाका घटना हुने गरेका छन् ।
सोमध्ये सबैभन्दा बढी श्रीमान्-श्रीमतीबीच भएका झगडाका घटना बढी दर्ता हुने गरेका प्रहरीको भनाइ छ । महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार आव ०७४/७५ मा जिल्लामा ३५ महिला बलात्कृत भएका घटना दर्ता भएका छन् । आव ०७५/७६ मा ५६ जना बलात्कारमा परेका थिए भने चालू आवको कात्तिक मसान्तसम्म २१ जना बलात्कृत भएका छन् । ०७४/७५ देखि चालू आवको कात्तिक मसान्तसम्म ३९ माथि बलात्कारको प्रयास भएको तथ्यांकले देखाएको छ ।
त्यसमा २२ बालिका ०७५/७६ देखि चालू आवको कात्तिक मसान्तसम्म अप्राकृतिक मैथुन तथा बाल यौन दुर्व्यवहारमा परेका छन् । यस्तै ०७४/७५ देखि चालू आवको कात्तिक मसान्तसम्म अर्थात् पछिल्ला ३ वर्षमा ७ सय ७३ महिला तथा बालिका हराएको तथ्यांक महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ । बलात्कारका धेरै घटना आर्थिक प्रलोभन र राजनीतिक आडमा मिलाउन दबाब आउने गरेको प्रहरी अधिकारी बताउँछन् ।
पछिल्लो समय नेपाली समाज चेतनशील र अधिकारबारे जागरुक हुँदा बलात्कारका घटना लुकाउनु हुन्न भन्ने सोचाइ बढिरहेको ओलीको भनाइ छ । उनले भने, 'बलात्कारबारे अहिले खुलेर विरोध गर्ने अवस्था आएको छ, मानवअधिकारबारे मानिस सजग हुँदै गएका छन् ।' अपराध लुकाउनु हुन्न भन्ने धारणा बढिरहेकाले पनि घटना धेरै बाहिर आउने गरेका उल्लेख गर्दै उनले भने, 'लामो समयसम्म पुरुष र महिलासँगै बसिरहेका हुन्छन्, सम्बन्ध बिग्रिएपछि महिलाले बलात्कारको आरोप लगाउने गरेका घटना पनि आउने गरेका छन्, केही घटनामा आर्थिक कुरा जोडिएका हुन्छन् ।' -रासस