नारायणगढ-मुग्लिन खण्ड पर्सि (शुक्रबार) देखि दिउँसोमा दैनिक ४ घण्टा बन्द हुने भएको छ । पहिरो रोकथामका लागि काम गर्न दैनिक सवारीसाधन रोक्नुपरेको नारायणगढ-मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको सुरक्षा समिति बैठकले नारायणगढ-मुग्लिन सडक हरेक दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म बन्द गर्ने निर्णय गरेको हो । पर्सिदेखि २ साता दैनिक ४ घण्टा बाटो अवरुद्ध हुनेछ ।
बाटो बन्द हुने समयमा यो खण्डको दुवैतर्फ सवारीसाधन रोक्ने स्थान पनि तोकिएको छ । नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारीसाधन पन्ध्रकिलोमा र मालवाहक सवारी दासढुंगामा रोक्नुपर्नेछ । यस्तै, मुग्लिनबाट नारायणगढतर्फ जाने मालवाहक सवारीसाधन (काठमाडौंतर्फ जाने) लेवाटार र पोखरातर्फबाट आउने आँबुखैरेनीमा रोकिनेछन् ।
मुग्लिनबाट नारायणगढतर्फ जाने यात्रुवाहक बस काठमाडौंतर्फ जाने मुग्लिन बजारमा र पोखरा तर्फबाट आउने सवारीसाधन बेनीटारमा रोकिनेछन् । एम्बुलेन्स, शववाहनलगायत अति आवश्यक सवारी साधानहरू भने सुरक्षा निकायको समन्वयमा निर्वाध गुड्न पाउनेछन् ।