कपिलबस्तुको बाणगंगा नगरपालिका ८ बोडगाँउमा कार दुर्घटनामा परी ग्लोबल आइएमई बैंक बनगाई शाखा प्रमुखको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ८ च ६३९० नम्बरको कार सोमबार बिहान दुर्घटना हुँदा कपिलवस्तु नगरपालिका ९ हरनामपुरका २८ वर्षीय सुरेश पाण्डेको मुत्यु भएको हो।
तीव्र गतिको कार सडकको छेउमा रहेको विद्युत् पोलमा ठोक्किँदा गम्भीर घाइते भएका पाण्डेको बाणगंगा सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अन्य ५ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनालाई थप उपचारका लागि बुटवल ल्याइएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए। मृतक पाण्डेको शवलाई तौलिहवा अस्पतालमा पोस्ट मार्टमपछि परिवारको जिम्मा लगाइएको नायब उपरीक्षक मल्लले जानकारी दिए।