बलात्कार अभियोगमा पक्राउ परेका सिद्धाबाबा अर्थात् कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले फेरि ७ दिनको म्याद थप गरेको छ ।
अनुसन्धानका लागि अदालतले दिएको चारदिने म्याद सकिएपछि प्रहरीले दोस्रोपटक ७ दिनको म्याद अदालतबाट लिएको हो । आफ्नै अनुयायीलाई बलात्कार गरेको मुद्दामा छनबिन भइरहेको उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले १० दिनको म्याद मागेको थियो । तर अदालतले १० दिनको साटो ७ दिनमात्र म्याद थप गरेको हो ।
प्रहरीले अहिले उनलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै उनलाई पक्राउ गरिएको थियो । पक्राउ परिसकेपछि प्रहरी आफ्नो अनुसन्धानमा बयान लिइरहेको छ । बयानकै क्रममा गिरीको रगत र वीर्यको मद्दतले ‘डीएनए’ परिक्षणका लागि प्रहरीको केन्द्रीय विधि बिज्ञान प्रयोगशाला काठमाडौं पठाइसकिएको छ ।
यस्तै करणी भएको भनिएको चतरास्थित महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानका पदाधिकारीहरुको पनि प्रहरीले बयान लिइरहेको छ । अनुसन्धान टोलीले प्रतिष्ठानका भान्से, उनका पीएसओ ‘बडीगार्ड’ र त्यसदिन उनीसँगै रहेका अन्य अनुयायीको बयान लिइएको प्रहरीले जनाएको छ । करणीको दाबी गरिएको कात्तिक ४ गतेयता र त्यसअगाडि गिरी र आरोप लगाउने महिलाबीचको फोन ‘कल डिटेल’ पनि प्रहरीले अध्ययन गरिरहेको छ ।