विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा विद्यार्थीहरुले आज तोडफोड गरेका छन ।
पियुको परीक्षा प्रणाली अपारदर्शी र विद्यार्थी मैत्री नभएको आरोप लगाउदै आन्दोलित विद्यार्थीहरुले विराटनगर–२ शनिहाटमा रहेको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरेका हुुन् ।
विद्यार्थीहरुले परीक्षा नियन्त्रण कार्यालयको परीक्षा नियन्त्रक र सह नियन्त्रकको कार्यालय सहित प्रशासन र लेखाशाखामा तोडफोड गरेका छन । तोडफोडबाट ती शाखाका झ्यालका शिशा र फर्निचरहरुमा क्षति पुगेको परीक्षा नियन्त्रकको कार्यालयले जनाएको छ । आन्दोलित विद्यार्थीहरुले विभिन्न मागराख्दै परीक्षा नियन्त्रकलाई यसअघिनै ज्ञापनपत्र वुुझाएका थिए ।
विद्यार्थीहरुले बुझाएका ज्ञापनमा हरेक सेमेष्टरमा चान्स एक्जाम गर्नुपर्ने,परीक्षाफल निष्पक्ष तरिकाले चेकजाँच गर्नुपर्ने, रिचेकिङमा लाग्ने ५ हजार दस्तुरलाई ५ सय बनाउनुपर्ने,परीक्षाफलमा लापरवाही गर्ने शिक्षक र कर्मचारीलाई बर्खास्त गर्नुपर्ने,रिचेकिङको ब्यवस्थागरि परीक्षाफल परीवर्तन भएमा परिवर्तित परीक्षाफल लागु गर्नुपर्ने र उत्तरपुस्तिका कोडिङगरि मात्र चेक गर्न दिने ब्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन ।
यता सो बिषयमा प्रतिक्रिया दिनुहुँदै पूर्वाञ्चल विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका परीक्षा नियन्त्रक प्रा.डा.सुर्यप्रसाद संग्रौलाले विद्यार्थीहरुले उठाएका मागहरु पियुको निति अनुरुप सम्बोधनगर्न हरदम तयार रहेको बताए । उनले क्याम्पसको माध्यमबाट प्रक्रियागतरुपमा विद्यार्थीहरुले आफ्ना समस्या लिएर आए नियमसंगत ढंगले सम्बोधन गर्न तयार रहेको बताए ।