डोटीको शिखर नगरपालिकाकी एक युवतीलाई आगो लगाएर हत्या गरेको माइती पक्षले आरोप लागाएका छन् । शिखर नगपालिका ४, मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षको आरोप छ ।
उनको परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाई शालिग्राम भट्टले आरोप लगाएका छन् । हत्यामा उनका पति मीनराज शर्माकै संग्लनता रहेको शालिग्राको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दिलीपसिंह देउवाले घटनाबारे कुनै उजुरी तथा जानकारी नआएको बताए । उनले भने, “घटनाबारे कुनै जानकारी र उजुरी आएको छैन, उजुरी आएपछि प्रहरीले आफनो काम थाल्ने छ ।”
शरीरमा आगो लागेपछि मंसिर ७ गते सख्त घाइते भावनालाई उपचारका लागि डोटीकै सुजङ अस्पतालमा पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल कैलाली पठाइएको थियो । पछि त्यहाँबाट पनि भारतको बरेली रिफर गरिएको थियो । अस्पतालले उनको स्वास्थ्यमा सुधार आएको भनेर डिस्चार्ज गरेपछि भावनाको घरमा ल्याउँदा मृत्यु भएको थियो । भावना र मीनराजबीच २ वर्षअघि मात्रै बिहे भएको परिवारजनले बताएका छन् । -रासस