महाकाली नदीमा ४ वर्षअघि आएको बाढीले ढलेको मुख्य सीमास्तम्भ जीर्णोद्धार नहुँदा बगरमा पुरिँदै गएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका ९, खल्लामसेटी क्षेत्रमा पर्ने महाकाली नदीको बगरमा रहेको नेपाल-भारत मुख्य सीमास्तम्भ नं ८१३ ढलेपछि मर्मत भएको छैन ।
'नेपाल र भारतका सीमा सुरक्षाकर्मी बेला-बेला निगरानीका लागि आउने गरे पनि सीमास्तम्भ मर्मत भएको छैन,' स्थानीय विमला महताले भनिन् । सशस्त्र प्रहरी बल ब्रह्मदेवका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रामराज खनालले कञ्चनपुरको सिमानामा पर्ने ब्रह्मदेवको माथिल्लो भागदेखि महाकाली किनार हुँदै भीमदत्त नगरपालिका ११ भुजेलसम्म ५ मुख्य सीमास्तम्भ नै नभएको बताए ।
'मुख्य सीमास्तम्भ नं ८१३ ढलेको अवस्थामा छ,' उनले भने, 'त्योभन्दा माथि उत्तरतर्फ मुख्य सीमास्तम्भ ८१४, ८१५ र ८१६ छैनन् ।' ती ३ मुख्य सीमा स्तम्भसहित ७ सहायक गरी उक्त क्षेत्रमा १० स्तम्भ गायब भएको उनले जानकारी दिए ।
'हाम्रो प्रविधिले हेर्दा त्यहाँका मुख्य ३ सीमास्तम्भ महाकाली नदीको पानीमा पर्छ,' सशस्त्र प्रहरी निरीक्षक खनालले भने, 'हामीले सीमा क्षेत्रको सबैखाले अपडेट केन्द्रमा पठाइरहेका छौँ ।'
त्यसैगरी ब्रह्मदेव बजारको पश्चिम क्षेत्रमा पर्ने महाकाली नदीमा मुख्य सीमास्तम्भ नम्बर ८११ लामो समयदेखि हराइरहेको छ ।
स्थानीय बासिन्दा र सशस्त्र प्रहरी बलको रेकर्डमा उक्त सीमास्तम्भ महाकाली नदीको तटबन्धभन्दा पर (टनकपुर क्षेत्र) पर्छ तर भारतीय पक्षले भने महाकाली नदीको तटबन्धभन्दा करिब ६० मिटर वर (नेपालतर्फ) दाबी गर्दा यहाँ धेरैपटक विवाद भएको छ ।
सोही क्षेत्रमा गत वर्ष भारतीय पक्षले सडक कालो पत्रे गर्ने क्रममा विवाद भएको थियो । स्थानीय प्रशासनले दुवै देशको सर्वे टोलीको निर्णयपछि मात्रै सडक कालोपत्रे अगाडि बढाउने सहमतिपछि भारतीय पक्ष पछि हटेको थियो ।
'सो क्षेत्रमा भारतीय पक्षले स्थानीय खडक सार्कीलाई घरसमेत बनाउन दिएको छैन,' उनले भने, 'ब्रह्मदेव क्षेत्रमा सीमास्तम्भ नहुँदा नेपाल-भारतबीच समय-समयमा विवाद हुने स्थिति बन्छ ।'
सशस्त्र प्रहरीका अनुसार यहाँको मुख्य सीमास्तम्भ ८१० (२) काठको बनाइएको छ भने भुजेलामा केही वर्षअघि मुख्य सीमास्तम्भ ८०५ महाकाली नदीमा आएको बाढीले बगाएको थियो ।
त्यसैगरी कञ्चनपुरको दक्षिण क्षेत्र पुनर्बास, बेलौरी र बेल्डाँडी गाउँपालिकामा पर्ने नेपाल-भारत सीमा क्षेत्रका केही स्थानमा पनि सीमा विवाद रहँदै आएको छ । सीमास्तम्भको जीर्णोद्धार नहुँदा त्यो हराएर जाने र त्यसपछि सीमा छुट्याउनै सकस पर्ने स्थानीय बताउँछन् । खल्लामसेटीका गणेशबहादुर रोकाया भन्छन्, 'अरु बेला वास्ता नगर्ने भूमि अतिक्रमण हुँदा मात्रै आवाज उठाउने हाम्रो बानी नै भइसक्यो ।' -रासस