बुढीगण्डकी आयोजनाको डुवान क्षेत्रमा पर्ने आरुघाटलगायतका बजार क्षेत्रको मुआब्जा निर्धारणप्रति असहमति जनाउँदै स्थानीयले आन्दोलन गरेका छन्।
जिल्ला मुआब्जा निर्धारण समिति गोरखाको बैठकले आइतबार राति गरेको मुआब्जा निर्धारण मान्य नहुने भन्दै स्थानीयले चोक चोकमा टायर बालेर आरुघाट बजार बन्द गराएका छन्। स्थानीयले प्रति आना १५ लाखदेखि २५ लाखसम्म पाउनुपर्ने माग राख्दै आएका थिए।
आरुघाट क्षेत्रको जग्गालाई प्रतिआना ५० हजार देखि ७ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण गरिएको थियो। आरुघाटतर्फ मुख्य सडकको पुरानो बजार पस्ने मोटरबाटोदेखि प्रहरी चौकी हुदै बुढीगण्डकी पक्की पुल जाने चोकसम्मको दायाँवायाँ घडेरी तथा जग्गाको मुआब्जा प्रति आना ७ लाख रुपैयाँ तोकिएको छ।
अन्य ठाउँमा पनि मुख्य सडकको दाँयाबाँया र शाखा बाटोका आधारमा मुआब्जा निर्धारण गरिएको छ।
आर्खेत बजार क्षेत्रका अन्य डुवानमा पर्ने जग्गाधनीले प्रति आना ५० हजार रुपैयाँ पाउने भएका छन्।
यसबाहेक सम्पूर्ण घर जग्गा अधिग्रहणमा परी विस्थापित हुने र अन्यत्र कहिँ कतै घरजग्गा नभएका विस्थापित, २.५ आना सम्म जग्गा हुने र २.५ आना देखि ५ आनासम्म मात्र जग्गा हुने परिवारले मुआब्जामा क्रमश १५ र १० प्रतिशत थप गरी मुआब्जा रकम वितरण गर्ने निर्णय मुआब्जा निर्धारण समितिले गरको छ ।