तनहुँको व्यास नगरपालिका २ का केही स्थानमा ठूला गाडी चल्नलाई प्रतिबन्ध लगाइएको छ। विद्यार्थी आवातजावत हुने समयमा व्यास नगरपालिकाले गणेशमानचोकबाट अमरापुरी हुँदै भादगाउँ जाने बाटोमा ट्रक, ट्र्याक्टर र टिपरलाई प्रतिबन्ध लगाएको हो ।
बिहान ९:१५ देखि १०:१५ सम्म र साँझ ३:३० देखि ४:३० बजेसम्म ठूला गाडीलाई उक्त ठाउँमा गुड्न रोक लगाइएको नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । उक्त समयमा त्यस मार्गमा विद्यार्थीको अत्यधिक चाप रहने र कुनै पनि बेला दुर्घटना हुनसक्ने भएकाले विद्यालय समयमा ठूला गाडीलाई रोक लगाइएको न्यौपानेले बताए ।
उक्त मार्ग हुँदै आदिकवि भानुभक्त क्याम्पस, निर्मल मावि, जलदेवी मावि, व्यास बोर्डिङ स्कुलका विद्यार्थी आउजाउ गर्छन् । ती सबै क्याम्पस र विद्यालयमा गरी करिब ५ हजार विद्यार्थी अध्ययनरत छन् । नगरपालिकाले यसअघि वडा २ स्थित कालीकामार्ग र डाँङ्ग्रेखोल्सीलाई एकतर्फी बनाएको थियो । जसअनुसार भोर्लेटारचोकदेखि भेटघाटचोकसम्म जाने र न्युरोडको कुमारी बैंकदेखि कालीकामार्ग हुँदै पृथ्वीराजमार्ग आउन मात्र पाइने नियम लागू गरिएको थियो ।
यसैगरी नगरपालिकाले नगर क्षेत्रभित्र विभिन्न स्थानमा सडक यातायात अवरुद्ध हुने गरी विवाह, व्रतबन्ध, भोज जस्ता सामाजिक कार्य गर्न प्रतिबन्ध लगाएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार सडक अवरुद्ध हुने गरी त्यस्ता कार्य गर्दा सर्वसाधारणको गुनासो बढिरहेकोले वैकल्पिक मार्ग भए नगरपालिकाको स्वीकृति लिन र वैकल्पिक मार्ग नभएमा त्यस्तो कार्य अन्यत्रै गराउन आग्रह गरिएको छ ।
साथै सडक अवरुद्ध हुनेगरी निर्माण सामग्री नराख्न र नगरपालिकासँग स्वीकृति लिएर निश्चित अवधिका लागि सडक अवरुद्ध नहुने गरी निर्माण सामग्री व्यवस्थापन गर्न नगरपालिकाले सर्वसाधारणलाई आग्रह गरेको छ ।
यसैगरी नगरपालिकाले मंसिर १ देखि नगर क्षेत्र भित्र प्लास्टिकको झोला प्रयोगमा बन्देज लगाएको छ । प्लास्टिकका झोला मौज्दात भए मंसिरभित्र हटाउन आग्रह गर्दै नगरपालिकाले पुस १ देखि अनुगमन गरी प्लास्टिकका झोला जफत गरिने बताएको छ । नगरपालिकाले यसका लागि वैकल्पिक झोला निर्माण तालिम सञ्चालन पनि गरिरहेको छ । -रासस