प्रतिनिधिसभा सदस्य पदका लागि कास्की क्षेत्र नं. २ हुन लागेको उपनिर्वाचनका सिलसिलामा पोखरा महानगरपालिका भित्र भईरहेका गतिविधिप्रति नेपाली काँग्रेसका तर्फबाट निर्वाचित वडाध्यक्षहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।
पोखरा महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष एवम् दलको नेता तथा सचेतक रामराज लामिछानेद्धारा जारी गरेको विज्ञप्तिमा शहरी योजना तथा भवन निर्माण मापदण्ड विपरित फिर्के खोलाको मापदण्ड १० मिटरबाट झारेर १ मिटर बनाउन महानगर प्रमुखको प्रतिनिधित्व गरि वरिष्ठ कानून अधिकृत नारायण शर्मा, नेकपाका प्रतिनिधि दामोदर बैरागी, मध्यस्थकर्ताहरु कृष्ण पराजुली, शंकरनाथ कोइराला, नागरिक प्रतिनिधि राजेश पराजुली, फिर्के संरक्षण तथा मापदण्ड सरोकार समितिका अध्यक्ष नारायण विक्रम शाही, सचिव कृष्णप्रसाद जैसी र स्वतन्त्र उम्मेदवार सुनिलबहादुर कोइरालाबीच निर्वाचन आचार संहिता विपरित भएको सम्झौता प्रति गम्भीर आपत्ति व्यक्त गरिएको छ ।
नेकपाका आफ्ना उम्मेदवारलाई जिताउनका लागि विद्यमान ऐन नियम विपरित गरिएको सम्झौता तत्काल खारेज गर्न र निर्वाचन आचार संहिता विपरित कार्य गर्नेलाई तत्काल कारवाहीको दायरामा ल्याउन विज्ञप्ति मार्फत जोडदार माग गरिएको छ ।
यसैविषयलाई लिएर वडा अध्यक्षहरु वडा नं ३ का रविन्द्र प्रजु, ४ का शंकर बास्तोला, ९ का रामराज लामिछाने, १० का राजकुमार गुरुङ र ११ का मोहन बास्तोलालगायतले निमित्त प्रमुख प्रशासकीयअधिकृत गंगालाल सुवेदीलाई भेट्दा यो विषयमा आफूलाई केहि थाहा नभएको भन्ने गैर जिम्मेवारपूर्ण जवाफ आएकोमा दुःख प्रकट गरिएको छ ।
‘प्रमुखको तर्फबाट हस्ताक्षर गर्ने बरिष्ठ कानुन अधिकृत शर्मासँग निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवेदीकै रोहवरमा बुझ्दा आफूले अनजानमा सहि गरेको भनि माफि माग्नुको साथै त्यो सम्झौता रद्ध भइसकेको हास्यास्पद जवाफ दिइयो’ विज्ञप्तिमा भनिएको छ, ‘यो सम्झौता निर्वाचन आफ्नो पक्षमा पार्न नेकपाले रचेको प्रपञ्च हो यसको हामी घोर विरोध गदै यस्तो भ्रमको खेति नगर्न सचेत गराउँन चाहान्छौ ।’
निर्वाचनकै मुखमा पोखरा १५ का वडाध्यक्षबाट मतदातालाई कम्बल वितरण गर्ने, नेकपाका जिम्मेवार नेताबाटै पृथ्वीचोककोचुनावी सभामा सुकुम्वासीलाई लालपूर्जा दिनेर बसपार्क नबनाउने अभिव्यक्ति दिइएको तर महेन्द्रपुलमा पुगी उनै नेताले बसपार्क बन्छ भन्नुले थप अन्यौलता सिर्जना गरेको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमानिर्वाचन जित्नकै लागि नेकपा जे पनि बोल्न र गर्न तयार छ भन्ने कुरा आम मतदातासमक्ष छर्लङ्ग पारेको उल्लेख गरिएको छ ।
पोखरा–९ बसपार्क वरपरका बासिन्दालाई उचित व्यवस्थापन गर्दै बसपार्क बनाउन २०७५ फागुन १० को कार्यपालिका बैठकले वडा नं. ९ का वडाध्यक्ष रामराज लामिछानेको अध्यक्षतामा समिति बनाएकोमा सो समितिले व्यवस्थापनको आधार सहित प्रतिवेदन बुझाएकोले नेकपाका नेताहरुले जुन भ्रमपूर्ण अभिव्यक्ति दिएका छन् त्यो भ्रममा नपर्नसचेत मतदातालाई आग्रह गरिएको छ ।
महानगरपालिकाले कर बढाएकोमा काँग्रेसतर्फका वडाध्यक्षले विरोध गरेपछि काँग्रेस वडा अध्यक्षकै पहलमा घटाइएको पनि विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।