उप-चुनावको मिति नजिकिँदै गएपछि महोत्तरीको भारतीय सीमा क्षेत्रमा नेपाल-भारतका सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । आगामी शनिबार महोत्तरीका ३ स्थानीय तहका ४ पदका लागि उप-चुनाव हुँदै छ ।
जिल्ला प्रशासन कार्यालयको आग्रहमा भारतको मधुवनी र सीतामढी जिल्ला प्रशासन कार्यालयले नेपाली सुरक्षाकर्मीसँगै भारतीय सीमा सुरक्षा बलका जवानलाई गस्तीमा खटाएको छ । अहिले महोत्तरीको पूर्वीदक्षिणी सीमा मटिहानीदेखि पश्चिमी-दक्षिणी सीमा खैरबनीसम्मको दशगजा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलका जवानले संयुक्त गस्ती गरिरहेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।
संयुक्त सुरक्षा गस्तीले उप-चुनावका मुखमा सीमा क्षेत्रबाट हुने अवाञ्छित गतिविधि नियन्त्रणसँगै साना हतियारको ओसारपसार, लागूऔषध कारोबार र मानव तस्करी रोक्न र सीमा विवाद बढ्न नदिन सहयोग पुग्ने प्रजिअ खत्रीको विश्वास छ ।
पिपरा गाउँपालिकाका अध्यक्ष र मटिहानी एवं बलवा नगरपालिकाका ३ वडाका वडाध्यक्ष पदका लागि उप-चुनाव हुँदै छ । बलवा २ र ८ एवं मटिहानी ६ सहित तीन वडाध्यक्ष पदका लागि चुनाव हुन लागेको हो । उप-चुनावको मिति नजिकिँदै गर्दा अहिले पिपरा, बलवा र मटिहानीमा राजनीतिक चहलपहल पनि ह्वात्तै बढेको छ ।
उप-चुनाव प्रयोजनका लागि आवश्यक पर्ने जनशक्ति, सुरक्षाकर्मी र अन्य व्यवस्था मिलाइसकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जिल्ला निर्वाचन अधिकारी पुष्पा झाले जानकारी दिए । -रासस